काठमाडौं। चिनियाँ अटोमेकर बीवाइडी (BYD) २०२५ को फर्च्युन ग्लोबल ५०० सूचीमा ९१औं स्थानमा पर्न सफल भएको छ। यो पहिलो पटक हो, जब बीवाइडी शीर्ष १०० भित्र पुगेको हो। २०२४ मा कम्पनी १४३औं स्थानमा थियो।
बीवाइडी २०२२ देखि लगातार फर्च्युन ग्लोबल ५०० सूचीमा समावेश हुँदै आएको छ। गत वर्ष कम्पनीले अप्रत्यासित व्यापारिक उछाल हासिल गर्दै वार्षिक आम्दानी ७ खर्ब ७७ अर्ब चिनियाँ युआन पुर्याएको थियो, जुन अघिल्लो वर्षभन्दा २९ प्रतिशत बढी हो।
सन् २०२४ मा कम्पनीले ४२ लाख ७० हजार युनिट न्यू इनर्जी भेहिकल (NEV) बिक्री गर्दै नयाँ रेकर्ड कायम गरेको थियो, जसमा वार्षिक वृद्धि ४१ प्रतिशत रहेको थियो। यस उपलब्धीका कारण बीवाइडी लगातार तेस्रो वर्ष पनि ग्लोबल न्यू इनर्जी पेसेन्जर भेहिकल बिक्रीमा पहिलो स्थानमा रह्यो।
बीवाइडीले अनुसन्धान र विकास (R&D) मा ठूलो लगानी गर्दै आएको छ। २०२४ मा मात्र यस प्रयोजनका लागि ५४ अर्ब २० करोड युआन खर्च गरिएको थियो, जुन अघिल्लो वर्षभन्दा ३६ प्रतिशत बढी हो। यसका कारण कम्पनीले ब्लेड ब्याट्री, डफआईएसयुएस इन्टेलिजेन्स बडी कन्ट्रोल सिस्टम र मेगावाट फ्ल्यास चार्जिङजस्ता अत्याधुनिक प्रविधि विकास गर्न सक्षम भएको छ।
२०२५ मा कम्पनीले आफ्नो उत्पादनलाई १ करोड ३० लाख युनिटसम्म पुर्याउँदै ग्लोबलाइजेसन र लोकलाइजेसन अभियानलाई तीव्र बनाएको छ। पहिलो ६ महिनामै चीनबाहिरका बजारमा ४ लाख ७० हजारभन्दा बढी गाडी बिक्री गरिएको छ। हङ्गेरीमा युरोपेली मुख्यालय स्थापना, ब्राजिलमा पहिलो गाडी उत्पादन र थाइल्याण्डमा ९० हजारभन्दा बढी NEV डेलिभरीले यसको ओभरसिज बजार विस्तारलाई अझ बलियो बनाएको छ। हाल बीवाइडीका न्यू इनर्जी भेहिकल ११२ देशमा उपलब्ध छन्।





Comment