सामाजिक सुरक्षा कोषको ८० प्रतिशत लगानी बैंक र सरकारी कागजातमा, अब पूर्वाधारमा मोडिने संकेत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

सामाजिक सुरक्षा कोषको ८० प्रतिशत लगानी बैंक र सरकारी कागजातमा, अब पूर्वाधारमा मोडिने संकेत

५३ प्रतिशत मुद्दती निक्षेप, २६ प्रतिशत ट्रेजरी बिल र १० प्रतिशत विकास ऋणपत्रमा लगानी



काठमाडौँ । सामाजिक सुरक्षा कोषले आर्थिक अनुशासन, लगानीमा पारदर्शिता र योगदानकर्तामुखी सेवाहरू विस्तार गर्दै आफ्नो प्रभावलाई क्रमशः सुदृढ बनाउँदै आएको छ। हालसम्म कोषमा ८३ अर्ब ६५ करोड योगदान रकम संकलन भएको छ । आव २०८१/८२ मा मात्रै २५ अर्ब ३६ करोड योगदान रकम संकलन भएको थियो।

कोषले सबैभन्दा ठूलो लगानी मुद्दती निक्षेपमा गरेको छ। कुल लगानी रकमको ५३ प्रतिशत अर्थात् ६२ अर्ब ४१ करोड ६ लाख २२ हजार रुपैयाँ मुद्दती खातामा राखिएको छ। त्यसपछि राष्ट्र बैंकद्वारा जारी ट्रेजरी बिलमा २६ प्रतिशत (३० अर्ब ४८ करोड ४० लाख ८३ हजार रुपैयाँ), विकास ऋणपत्रमा १० प्रतिशत (११ अर्ब ९३ करोड ८८ लाख १५ हजार रुपैयाँ), र योगदानकर्तालाई सापटीस्वरूप ६ प्रतिशत (६ अर्ब ८१ करोड ७६ लाख ५० हजार रुपैयाँ) लगानी गरिएको छ।

त्यसैगरी ऋणपत्रमा ४ प्रतिशत अर्थात अर्ब ३६ करोड ५१ लाख ४७ हजार र म्युचुअल फन्डमा १ प्रतिशत अर्थात ८५ करोड ४ लाख ३० हजार रुपैयाँ लगानी गरिएको कोषले जनाएको छ। यो संरचनाले कोषको लगानी रणनीति सुरक्षित तर दीर्घकालीन लाभ सुनिश्चित गर्ने दिशामा केन्द्रित रहेको देखिन्छ।

कोषका कार्यकारी निर्देशक कविराज अधिकारीका अनुसार, “हाल हामीले कार्यविधिअनुसार सरकारी ऋणपत्र, मुद्दती निक्षेप, म्युचुअल फन्ड, ऋणपत्र र स्थिर सम्पत्तिमा लगानी गरिरहेका छौँ। तर आगामी दिनमा पूर्वाधारमा समेत लगानी विस्तार गर्ने योजना बनाइरहेका छौँ।” उनले कार्यविधिमा परिमार्जन गरेर कोषको रकमलाई उत्पादनमुखी क्षेत्रमा परिचालन गर्ने रणनीति अघि बढाइएको बताए।

सूचीकरणमा उल्लेखनीय प्रगति

कोषले हालसम्म कुल ७ लाख ५६ हजार वटा दाबी भुक्तानीमार्फत १५ अर्ब ७५ करोड रकम भुक्तानी गरेको छ। कोषका अनुसार आर्थिक वर्ष २०८१/८२ मा मात्रै ३ लाख ६२ हजार वटा दाबी भुक्तानीमार्फत ५ अर्ब ८७ करोड रकम भुक्तानी गरेको थियो । कोषले योगदानकर्ता सापटीअन्तर्गत विशेष सापटी ३४ हजार २० योगदानकर्तालाई ६ अर्ब ९० करोड भुक्तानी गरेको छ ।

त्यस्तै, घर सापटी ६७ योगदानकर्तालाई १३ करोड र शैक्षिक सापटी १० जना योगदानकर्तालाई १ करोड गरी कूल ३४ हजार ९७ योगदानकर्तालाई ७ अर्ब ४ करोड भुक्तानी गरेको कोषले जनाएको छ ।

कोषले औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत एक लाख १० हजार ६९६ योगदानकर्तालाई २ अर्ब १५ करोड रुपैयाँ भुक्तानी गरेको छ । त्यस्तै, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ५ हजार ९३३ योगदानकर्तालाई २० करोड, आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत ७ सय ४५ जनालाई २६ करोड र वृद्ध अवस्था सुरक्षा योजनाअन्तर्गत १ लाख १२ हजार ८ सय ६८ योगदानकर्तालाई १३ अर्ब १३ करोड भुक्तानी गरेको छ ।

कोषका अनुसार, कोषमा रोजगारदाता र योगदानकर्ताको सूचीकरण र योगदान रकम संकलनमा उल्लेख्य वृद्धि भएको छ । हालसम्म यस्तो रोजगार सूचीकरण संख्या कोषमा २० हजार ९५१ पुगेको छ भने कुल योगदानकर्ता श्रमिकको संख्या २३ लाख ७४ हजार ४८६ पुगेको छ ।

जसमध्ये औपचारिकतर्फ ६ लाख एक हजार ८ सय २५, वैदेशिक क्षेत्र तर्फ १७ लाख ७१ हजार ५३७, अनौपचारिक र स्वरोजगार क्षेत्र तर्फका श्रमिक १ हजार १२४ रहेको छ । आव २०८१/८२ मा मात्रै ८ लाख ८२ हजार ९४६ योगदानकर्ता श्रमिक थपिएका छन् ।

स्वास्थ्य सेवा अब पुरै परिवारका लागि

कोषले सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाउने अभियान अन्तर्गत हालसम्म १०७ वटा स्वास्थ्य संस्थासँग स्वचालित प्रणाली जडान गरिसकेको छ। चालु आर्थिक वर्षमा मात्र २४ वटा अस्पताल थपिएका छन्। अनलाइन प्रणालीबाट सेवा सुविधा सजिलो बनाइएको र उपचार दायरा उल्लेख्य रूपमा विस्तार भएको अधिकारीले बताए।

शुरुमा ८० प्रतिशत उपचार मात्रै उपलब्ध थिए भने अहिले यो सुविधा योगदानकर्ताका पति–पत्नी, छोराछोरीसम्म विस्तार भइसकेको छ। “अब परिवारका सबै सदस्यले सेवा लिन सक्छन्,” अधिकारीले भने।

कोषका अनुसार पाँच वर्षअघिसम्म योगदानकर्ताले स्वास्थ्य सेवामा १ लाखसम्म लाभ लिन सक्थे भने अहिले यो सीमा बढाएर १० लाखसम्म पु-याइएको छ।

वैदेशिक रोजगारमा विशेष प्राथमिकता

सामाजिक सुरक्षा कोषले वैदेशिक रोजगारमा रहेका श्रमिकहरूको योगदान सुनिश्चित गर्न विशेष पहल गरिरहेको छ। तर कार्यान्वयनमा विभिन्न चुनौतीहरू छन्। अधिकारीका अनुसार, “ठेकेदारहरूले लाभ बुझ्दैनन्, योगदान अनियमित हुन्छ, परिवारहरू जानकारी विहीन हुन्छन्। हामी यस्ता चुनौतीहरूलाई समाधान गर्ने प्रयासमा छौँ।”

यसका लागि हालसम्म १२ वटा वित्तीय संस्थासँग सहकार्यको समझदारी गरिसकिएको छ। वैदेशिक रोजगारीमा रहेका श्रमिकका परिवारलाई पनि ८० प्रतिशत उपचार सेवा, ओपीडीरआईपीडी सुविधा दिइँदैछ। वैदेशिक रोजगारको निरन्तरता र योगदान नियमित गर्न कोषले ‘फोकस प्रोग्राम’ सञ्चालन गरिरहेको छ।

सामाजिक सुरक्षा कोषले दीर्घकालीन लाभदायी क्षेत्रहरूमा लगानी विस्तार गर्ने नयाँ सोचसाथ सम्भाव्यता अध्ययन थालेको छ। सूचना अधिकारी डा. रोशन कोजुका अनुसार हाइड्रोपावर क्षेत्रमा लगानीका लागि अध्ययन सुरु गरिएको छ। “यो संवेदनशील विषय हो, योगदानकर्ताको पैसा हो, त्यसैले गम्भीर रूपमा विश्लेषण गरेर अघि बढिरहेका छौँ,”

प्रकाशित : 29 July, 2025 8:33 pm