काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनाले अर्थतन्त्रमा सुधारको संकेत देखिएको बताएकी छन् । इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) ले आयोजना गरेको ‘फ्युचर बैंकिङ’ विषयक इमान डायलगमा नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर ढुंगानाले ब्याजदर पनि न्यून भएकाले लगानीका लागि उपयुक्त समय भएको धारणा राखिन्।
बजेटले दिएको प्राथमिकताका आधारमा नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीति जारी गरेकाले त्यसको सदुपयोग गरेको अघि बढ्न उनले सरोकारलाई सुुझाव दिइन् । राष्ट्र बैंकले लिएका कतिपय नीति अल्पकालका लागि हुने र दिगो बैंकिङतर्फ पनि राष्ट्र बैंक सोच्ने भएकाले हालका नीतिबाट लाभ लिनुपर्ने उनले स्पष्ट पारिन् ।
अर्थशास्त्री एवं नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले बैंकिङ फ्युचरका कुरा गर्दा पाँचवटा विषयलाई ध्यान दिनुपर्ने बताए । संस्थागत सुशासन, कर्पोरेट कल्चर, कार्यक्रम (स्किम), प्रविधि र राष्ट्रिय अर्थतन्त्रसँग बैंकिङ क्षेत्रलाई कसरी जोड्ने जस्ता विषयमा बहस गर्नुपर्ने उनले स्पष्ट पारे ।
थापाले बैंकिङ क्षेत्रको सुरुवात नै पीपीपी मोडलबाट भएको बताए। आधुनिक बैंकिङका सवालमा वित्तीय क्षेत्र कसरी अघि बढ्यो र कसरी आधुनिक बैंकिङसम्म आइपुग्यो भन्नेबारे स्पष्ट पारे । राष्ट्र बैंकले ५० को दशकमा विविधतापूर्ण बैंकिङ मोडल अवलम्बर गरी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको स्थापना भयो तर ७० को दशकमा आएपछि युनिभर्सल बैंकिङ मोडलमा जाँदा विभिन्न समस्या देखापरेको उनले बताए।
वित्तीय क्षेत्रको विकास यति ठुलो हुँदा पनि अर्थतन्त्रको विकासमा वित्तीय क्षेत्रको योगदान कमजोर रहेको टिप्पणी थापाले गरे । ‘त्यस्तै पुँजी निर्माणमा पनि बैंकिङ क्षेत्रको योगदान अपेक्षाभन्दा निकै कम छ,’ उनले भने, ‘निजी क्षेत्रको विकासमा यो क्षेत्रले सहयोगी भूमिका निर्वाह गर्न सकेको छैन ।’
राष्ट्र बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को स्थापना गरेर अत्यन्तै राम्रो काम गरेको उनले बताए । कर्जा सूचना केन्द्र र वित्तीय जानकारी इकाइले पनि वित्तीय क्षेत्रको सुरक्षामा धेरै महत्वपूर्ण काम गरिरहेको स्पष्ट पारे । अर्थशास्त्री थापाले सञ्चालन दक्षता, प्राविधिक दक्षता, सेवामा विविधता जस्ता विषयलाई बैंकिङ क्षेत्रका चुनौतीका रुपमा उनले उल्लेख गरे ।
बैंकिङ क्षेत्रको संस्थागत सुशासन र निजी क्षेत्रको कर्पोरेटाइजेसन भए नेपालको बैंकिङ निकै अघि बढ्ने उनले बताए । ‘निजी क्षेत्रमा पनि कर्पोरेट कल्चर हुनुपर्छ,’ थापाले भने । परम्परागत सेवा दिइरहेका बैंकले डिजिटल बैंकिङ गर्न सक्ने भए पनि डिजिटल बैंकका रुपमा अघि बढ्न नसक्ने उनले बताए । डिजिटल करेन्सीका विषयमा धेरै होमवर्क जरुरी हुने धारणा थापाले राखे ।
तीनवटा सरकारी बैंक र केही निजी क्षेत्रका बैंकमा रणनीतिक साझेदार भित्र्याउन राष्ट्र बैंकले छिटोभन्दा छिटो निर्णय लिनुपर्ने उनले बताए । उनले संघीय संरचनाअनुसार वित्तीय क्षेत्रको विकास हुनुपर्ने टिप्पणी गरे । ‘अहिले प्रादेशिक र स्थानीय स्तरका बैंकको आवश्यकता छ तर यसमा कसैको ध्यान गएको छैन,’ उनले भने, ‘यी बैंक खोल्ने विषयमा राष्ट्र बैंकले अध्ययन थालिहाल्नुपर्छ ।’
बैंकिङ विज्ञ अनलराज भट्टराईले नेपालको अर्थतन्त्र संवेदनशील मोडमा पुगेको सन्दर्भमा संरचनात्मक सुधार, नीति कार्यान्वयनको प्रभावकारिता र डिजिटल प्रविधिमा आधारित भविष्यमुखी बैंकिङ प्रणाली अवलम्बन गर्न आवश्यक रहेको बताएका छन् ।
उनले नेपालको बैंकिङ क्षेत्रमा ठुलो प्राविधिक रुपान्तरण भइरहेको पनि बताए । उनका अनुसार चेकबुकबाट अघि बढेको बैंकिङ अहिले डिजटल कारोबारसम्म आइपुगेको छ । ‘बैंकमा पुुग्नै नपरी धेरै काम गर्न सक्ने अवस्था आएको छ, आधुनिकताले धेरै सहज बनाएको छ,’ भट्टराईले भने, ‘तर यससँगै सुरक्षा जोखिम बढेको छ, यसतर्फ पनि ध्यान पनि दिनुपर्छ ।’
उनले बैंकिङ डाटा सुरक्षाका सन्दर्भमा नेपाल राष्ट्र बैंकले गम्भीर भएर सोच्नुपर्ने बताए । ‘बैंकिङमा नियो बैंकिङभन्दा पहिला ओपन बैंकिङका बारेमा सोच्नुपर्छ,’ उनले भने, ‘साथै नियो बैंकिङको विषय लाइसेन्स दिने विषयमा मात्र सीमित हुनु हुँदैन ।’ उनले सूचना प्रविधिको प्रयोग, डिजिटाइजेसन, राष्ट्र बैंकको नियमन, वित्तीय साक्षरता, सुरक्षालगायत विषयमा धारणा राखेका छन् ।
कार्यक्रममा गुडविल फाइनान्सका अध्यक्ष दिलिप मुनाकर्मीले परम्परागतबाट आधुनिक बैंकिङतर्फ जान समस्या भइरहेको बताए । ‘हामी कागजीबाट डिजिटलतिर जाँदैछौं तर त्यसमा भिजेका छैनौँ कि १’ उनले भने, ‘त्यसकारण डिजिटल बैंकिङ र परम्परागत बैंकिङलाई जोडेर सँगै अघि बढ्नुपर्ने अवस्था छ ।’





Comment