महासंघ देशभरका सहकारीहरुको विश्वासको केन्द्र हो, प्रयोगशाला होइन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

महासंघ देशभरका सहकारीहरुको विश्वासको केन्द्र हो, प्रयोगशाला होइन



काभ्रे पनौतीका सुरेश थापा कुनै समय राष्ट्रिय सहकारी महासंघमा महाप्रवन्धकको जिम्मेवारीमा थिए । एक दशक प्राध्यापन क्षेत्रमा विताएका थापा सन् २०१५ जनवरी देखि महासंघको जिआइजेड परियोजना हेर्नेगरी कार्यक्रम अधिकृतको रुपमा सहकारी क्षेत्रमा आएका हुन । सरल र स्पष्ट वक्ताको स्वभाव भएका एवम मूल्यमा सम्झौता नगर्ने स्वभावका थापा खुल्ला प्रतिस्पर्धावाट नायव महाप्रवन्धक हुँदै २०८१ माघ १ गतेदेखि महाप्रवन्धकको कुर्सीमा थिए । राजनीति र पेशागत विचलन देखिएका कारण महाप्रवन्धक पदबाट राजीनामा बुझाएका थापासँग गरिएको कुराकानी


तपाईंले अचानक सहकारी अभियानमा नै हलचल ल्याउनेगरी राजीनामा दिनुभयो । यो राजीनामाको पछाडि खास कारण चाँही के छ ?
मेरो राजीनामाको कारण स्पष्ट छ । पेशागत मुल्यको रक्षा र कार्य–जीवन सन्तुलन जे भनेता पनि कार्य वातावरण त हरेक कार्यालयको कार्यसम्पादन प्रणालीको पूर्व शर्त हो नि । जव संस्थागत निर्णय प्रक्रियामा अध्यक्ष र महाप्रवन्धक विचको कुटनीतिक कार्यशैली, नेतृत्व र व्यवस्थापन विचको व्यावसायिक सम्वन्ध र राजनीतिक अन्तर सम्वन्धको रणनीतिक प्रभाव संस्थागत विकासमा लक्षित हँुदैन तव कार्य वातावरणमा चुनौती पैदा हुन्छ । त्यतिवेला सच्याउन नसक्नुलाई आफ्नो पनि कमजोरी ठान्दै पेशागत मुल्यको रक्षा गर्ने अठोटका साथ मैले निकास दिए ।

नियुक्तिसँगै सबैको सहमतिमा महासंघ चलाउने प्रतिबद्धता थियो । असहमति चाँही केमा भयो ?

हो पक्कै पनि सवैको सहमतिमा महासंघलाई अघि वढाउने योजना अनुरुप नै जिम्मेवारी लिएको हुँ । महासंघको सर्वोपरि हित र सहकारी अभियानको नेतृत्वदायी भूमिकका रुप्मा महासंघका रुपमा अघि वढाउने कार्यादेश हो । मेरो पनि यहि प्रतिबद्धता थियो । तर व्यवस्थापन संचालनका आधारभुत मान्यतालाई सवैले स्वीकार गर्न सक्नुप¥यो नि । सामूहिक नेतृत्व विना पनि त संघ संगठन अघि वढ्न सक्दैन नि । नीति र प्रणाली भन्दा माथि उठेर व्यक्ति वा समूह प्राथमिकतामा पर्नु हुँदैन भन्ने नै हो । महासंघ भनेको देशभरका सहकारीहरूको विश्वासको केन्द्र हो – यो प्रयोगशाला होइन । मेरो असहमति महासंघलाई प्रयोगशाला वनाइनु हुन्न भन्ने हो । असहमति हटाउदै सहमतीय संस्कृतिको विकास होस् भन्नको लागि नै मैंले निर्णय लिएको हुँ । चाणक्यले भनेका छन् –‘राजा स्वयं नियम उल्लंघन गर्छ भने राज्य विघटनतिर जान्छ’, यहि चेतनावाट मैले मार्गप्रशस्त गरेको हुँ । यस्तो परिस्थितिमा राजीनामा पनि एउटा अभियान नै हो भन्ने बुझन सकिन्छ ।

तपाईका शुभचिन्तक कति रहेछन र के छ उनीहरुको प्रतिक्रिया ?

राजीनामापछि मैंले नयाँ प्रकारको समर्थन देखें । मौन रहेर मलाई बुझेका सयौँ अनुहार खुलेर आएका छन् । फोन, सन्देश, सामाजिक सञ्जाल सबैतिरबाट एउटा कुरा झल्कियो – मैले यो अर्लि एजिस्ट गरेर केवल निर्णयकर्ता मात्र बनेको रहेनछु । मूल्यको प्रतिनिधित्व गरेको रहेछु भन्ने लागेको छ । संगसंगै के पनि आभाष भयो भने व्यवस्थापनमा व्यावसायिकता, पारदर्शिता र साहसको नेतृत्व आज पनि मूल्यवान् छन् । धेरैका लागि सोच्न बाध्य पनि बनाएको छ महाप्रवन्धक जस्तो पद पनि त्यागिदियो भन्ने किसिमको प्रतिmक्रिया पनि प्राप्त भएका छन् । गैर व्यवसायिक प्रवृत्ति, मुल्य र मान्यताको तिलान्जली र आत्मासम्मानमा ठेस पुग्दा समेत हामीले किन सेवालाई निरन्तरता दिइरहेका छौं भन्ने कुराको स्मरण गराएको छ ।


यो कदम कार्य र जीवनको सन्तुलनको खोजीको अभियान पनि हो । उत्पादकत्व बृद्धिमा कदम चाल्नु वान्छनीय हुन्छ की व्यवस्थापन प्रणालीमा प्रहार गर्नेे भन्ने पनि हो । यो महासंघको मात्र सवाल होइन आम सहकारीको हो । गिग इकोनोमीको क्रान्ति भइरहेको समयमा १९ औं सताव्दीमा फर्कने शैलीप्रति पनि हो यो अभियान । मौनतामा शक्ति हुन्छ ।

सुशासनको पाटोमा महासंघ कमजोर भयो भन्ने आरोप छ नि ?

सुशासनको अवधारणामा महासंघ चुकेको छैन । नियामकीय अन्तरसम्वन्ध र आन्तरिक कार्यविधि निर्माण मार्फत सुशासनको अभ्यास गरेको छ । तर कार्यान्वयनको पाटोमा खरो उत्रन नेतृत्वमा सुन्य सहनशिलत आवश्यक पर्छ । त्यागको नेतृत्वले नै यी सबै गर्न सक्दछ । सहकारी सस्कृतिको विकास र रोडमोडलका थुपै्र अभ्यासहरु महासंघले गर्नुपर्छ, प्रणालीगत सुधारलाई मजबुद बनाउने, दिगो निर्णय प्रक्रियामार्फत व्यावसायिक छवि निर्माण गर्ने, धारणाहरुलाई संस्थागत रुपमा अघि वढाउने र अभियानको भविश्यको विषयमा अन्तरसंवाद गर्दै आफ्नो आवधिक रणनीतिमा एकाग्र भएर लाग्ने विषयहरुमा सुधारको खाँचो छ । महासंघले विनियममा व्यवस्था भएको नेतृत्व प्रणालीको व्याख्या र कार्यान्वयन गर्नु गराउनु जरुरी छ ।


अर्थतन्त्रको तीन खम्बामध्ये एक खम्बाका रुपमा सहकारीलाई लिइएको छ । सहकारीको भविष्य चाँही यहाँले कस्तो देख्नुभएको छ ?

नेपाल जस्तो मुलुकमा सहकारीको सम्भावना विशाल छ । नीति, कानूनले त्यहि भन्छ । तर त्यो संस्थागत अनुशासन र आन्तरिक लोकतन्त्रमा आधारित हुनुपर्छ । मूल्यविहीन सहकारी अभियानको यात्रा सुखद हुँदैन । त्यहाँ व्यक्ति हावी हुन्छ । केही समयत चम्किन्छ, तर कालान्तरमा समस्याग्रस्त हुन्छ । मुल्य, मान्यता र सिद्धान्तका आधारमा सहकारीको रखवाली हुनुपर्छ । त्यसैले मूल्यमा अनुवन्धित संचालक समिति, जेनजीसहितको परिवर्तित व्यवस्थापन अवधारणा र कार्यक्षेत्रको स्पष्ट डिर्माकेसन सहितको सहकार्यले नै अभियान व्यवसायिक र सिद्घान्तनिष्ठ हुन सक्छ ।

सहकारीको भविश्य सहकारी भित्रै छ । सवैले म म भन्ने हो भने सहकारी स्वत स्वनियमनमा चल्दछ । तर म म भन्ने कति हुनुहुन्छ ? यसर्थ, आफ्नो भविश्य आफै निर्माण गर्ने हो । सहकारीमा लोभी पापी होइन सच्चा सहकारीकर्मिहरुको आवश्यक्ता छ । समस्या यहाँ नीति, विधिको होइन न कि कानुनको, यहाँ एटिट्युडमा समस्या छ । सुधारको वाटोमा लाग्यौ भने सहकारी सकारात्मक दिशामा अघि वढ्छ ।

अहिले राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग लगायतले नीति, कार्यविधि र मापदण्ड मार्फत सुशासनको प्रयासमा थालनी भएको पाइन्छ । हामीले केही नविगे्रसम्म आशा गर्नपर्छ । आशा गरौं । सहकारीका विषयमा जति कुरा बाहिरिएका छन् त्यसले सुधारको वाटो्तर्फ लाग्न पनि उत्प्रेरणा प्रदान गरिरहेको छ । यसवाट के विश्वास गर्न सकिन्छ भने अब सहकारीले एउटा बलियो ट्रयाक समात्ने छ । नेपालको आर्थिक सामाजिक विकासमा सहकारी पहिलो विकल्पका रुपमा अगाडि आउँदैछ ।

महासंघमा अबको महाप्रबन्धक कस्तो हुनुपर्छ ?

महाप्रवन्धक को र कस्तो भन्नेले खास अर्थ राख्दैन । जवसम्म संस्थाको प्रणालीगत सुधारले लय लिदैन तबसम्म यस्ता पदहरु गौंण हुन्छन् । त्यसकारण महासंघमा अवको महाप्रवन्धकले पहिलो कार्य यहि गर्नुपर्छ । कस्तो महाप्रवन्धक छनौट गर्ने भन्ने विषय महासंघको नीति, कार्यविधिमा स्पष्ट उल्लेख भएकै छ, सोहि आधारमा छनौट भइ नै हाल्ला । महासंघको संचालक समिति विवेकपूर्ण छ । यस विषयमा सोचेको छ भन्ने लाग्छ ।

नियुक्ति प्रणाली अब खुला प्रतिस्पर्धात्मक बनोस् भन्ने पक्षमा हुनुहुन्छ कि भित्रैबाट कोहि भए हुन्छ ?

नियुक्ति प्रक्रियाको वारेमा महासंघको कार्यविधिले स्पष्ट वोलेको छ । खुल्ला प्रतिस्पर्धालाई प्राथमिकता दिने हो । सोहि अनुसार हुन्छपनि होला । किनभने नियुक्ति केवल कुर्सीमा बस्नका लागि मात्र होइन नी, यो त विश्वास, योग्यता र मूल्यको जिम्मेवारी पनि हो । महासंघलाई हाक्न सक्ने व्यक्तिको छनोट गुपचुप निर्णय वा व्यक्तिगत पहुँचका आधारमा हुन सक्दैन । हुनु हुँदैन । यो सिर्जनात्मक पारदर्शिता हो । अर्कोतर्फ महासंघ भित्रै पनि सक्षम व्यक्तिहरु छन् र खुल्ला प्रतिस्पर्धामा उत्रन तयार छन् । कतिपय कार्यरत साथीहरुले प्रतिस्पर्धालाई अन्यथा रुपमा पनि लिने गरेको पाइन्छ । तर प्रतिस्पर्धा आफैंमा सुशासनको पाइला हो र यसले स्वमुल्याङ्कनको परीक्षण गर्दछ ।

अब तपाईंको यात्रा कता ?

जीवन योजनामा चल्छ भन्ने धारणा अव पुरानो भयो । विश्वव्यापीकरणले यो धारणालाई प्रतिस्थापन गरी ‘ट्याकल वीथ टाइम’भन्ने अवधारणा विस्तार गरेको छ । यद्यपी, म पदवाट बाहिरिएँ पनि दायित्वबाट वाहिरिएको छैन । समकालिन परिस्थितीमा सहकारी सुधारको प्रथम पक्ष भनेको मूल्यमा आधारित निर्णय प्रक्रिया र सो को कार्यान्वयन हो । यसलाई वटमलाइन वनाएर म अभियान भित्र रचनात्मक भुमिकामा रहिरहने छु ।

प्रकाशित : 25 July, 2025 10:58 am