काठमाडौं — नेपालको डिजिटल भुक्तानी क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। डिजिटल भुक्तानी सेवा प्रदायक दुई प्रमुख कम्पनीहरू आइएमई डिजिटल सोलुसन लिमिटेड (आइएमई पे) र खल्ती प्रालि (खल्ती) एक आपसमा मर्जर (एकीकरण) भएका छन्। बिहीबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै दुवै कम्पनीले एकीकृत कारोबार सुरु भएको घोषणा गरेका हुन्।
अबदेखि यी दुई कम्पनी संयुक्त रूपमा ‘खल्ती बाई आइएमई’ नामबाट कारोबार गर्नेछन्। यो नेपालकै डिजिटल वालेट क्षेत्रमा भएको पहिलो मर्जर हो। एकीकरणपछि कम्पनीको मुख्य कार्यालय काठमाडौंको पानीपोखरीमा रहनेछ।
नयाँ एकीकृत कम्पनीको प्रयोगकर्ता संख्या १ करोड २७ लाखभन्दा बढी रहेको जनाइएको छ। कम्पनीको चुक्ता पुँजी ५४ करोड रुपैयाँ पुगेको छ।
कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले नयाँ कम्पनीलाई लाइसेन्स हस्तान्तरण गरेका थिए। एकीकृत कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनय खड्का नियुक्त भएका छन्। उनी खल्तीमा पनि सीईओका रूपमा कार्यरत थिए र डिजिटल वालेट क्षेत्रमा पृथक पहिचान बनाएका व्यक्ति हुन्।
सञ्चालक समिति गठन
नयाँ कम्पनीमा ७ सदस्यीय सञ्चालक समिति गठन गरिएको छ।
सञ्चालक समितिमा रहेका व्यक्तिहरू निम्नानुसार छन्:
अध्यक्ष: कृष्ण प्रसाद शर्मा (पूर्व आइएमई डिजिटल सोलुसन्सका अध्यक्ष)
सदस्यहरू: दिवाकर पौडेल, सिताराम थापा, प्रविन रेग्मी, अमित अग्रवाल, अर्बिन्द शाह, मनिष मोदी
अध्यक्ष शर्माले उक्त मर्जरले “डिजिटल नेपाल” अभियानलाई थप मजबुत बनाउँदै डिजिटल भुक्तानीको भविष्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे।
लगानी संरचना
आइएमई पेमा: आइएमई ग्रुपको लगानी रहेको छ।
खल्तीमा: वर्ल्ड लिंक र त्रिवेणी ग्रुपको संयुक्त लगानी रहेको छ।
लाइसेन्स विवरण
आइएमई पेले वि.सं. २०७४ असार ५ गते नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरेको थियो।
खल्तीले भने वि.सं. २०७६ वैशाख २ गते लाइसेन्स प्राप्त गरेको थियो।
यस मर्जरसँगै नेपालको डिजिटल भुक्तानी प्रणाली अझ प्रभावकारी र सशक्त हुने अपेक्षा गरिएको छ।
फाेटाे – नेपाल फाेटाे लाइब्रेरी





Comment