काठमाडौं— नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा कार्यकाल शुरु भएको केही महिनामै निलम्बनमा परेका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष ओझाको कार्यसम्पादन र नियुक्तिसम्बन्धी विवादबारे छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको छ।
छानबिन समितिको नेतृत्व पूर्वन्यायाधीश कृष्ण गिरीले गर्नेछन् भने सदस्यमा कपिलदेव ओली र जीवनप्रकाश सिटौला रहेका छन्। समिति गठनसँगै बीमा ऐन २०७९ को व्यवस्था अनुसार ओझा स्वचालित रूपमा निलम्बनमा परेका हुन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओझाले नियुक्तिका क्रममा झुटा अनुभव विवरण प्रस्तुत गरेको आशंका जनाएको छ। नियुक्ति प्रक्रियामै त्रुटि देखिएको भन्दै सरकारमा चासो बढेको थियो।
सरकारले गठित समितिलाई तीन महिनाभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ। छानबिनको निष्कर्षको आधारमा थप कारबाही प्रक्रिया अघि बढ्ने बताइएको छ।





Comment