काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को एघार महिनासम्म नेपालले वस्तु निर्यातमा ऐतिहासिक सुधार गरेको देखिएको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार यो अवधिमा कुल वस्तु निर्यात ७७.८ प्रतिशतले वृद्धि भई २४७ अर्ब ५७ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ३ प्रतिशतले घटेको थियो।
गन्तव्यका आधारमा हेर्दा भारततर्फको निर्यात ११२.६ प्रतिशत, चीनतर्फको निर्यात ३.० प्रतिशत र अन्य मुलुकतर्फको निर्यात ४.४ प्रतिशत ले वृद्धि भएको छ। भारतीय बजारतर्फको निर्यात दोब्बरभन्दा बढी बढ्नु नेपालका उत्पादकहरूका लागि उत्साहजनक संकेत मानिएको छ।
भटमासको तेल, पोलिस्टरको धागो, जुटका सामान, चिया र खोटो लगायतका वस्तुको निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। यद्यपि, पाम तेल, जिङ्क सिट, जुस, तयारी पोशाक र अलैंचीजस्ता परम्परागत निर्यात वस्तुहरूको माग घट्दा निर्यात घटेको छ।
यसै अवधिमा कुल वस्तु आयात १३.१ प्रतिशतले बढेर १६४४ अर्ब ८० करोड पुगेको छ। गत वर्षको सोही अवधिमा आयात १.८ प्रतिशतले घटेको थियो।
वस्तुगत आधारमा हेर्दा भटमासको कच्चा तेल, चामलरधान, यातायात उपकरण, सवारी साधन, खाने तेल र स्पन्ज आइरन को आयातमा वृद्धि भएको छ। भने पेट्रोलियम पदार्थ, सुन, विद्युत्तीय उपकरण, रासायनिक मल र कोइला को आयातमा कमी आएको छ।
मुलुकका आधारमा हेर्दा भारतबाट ७.६ प्रतिशत, चीनबाट १५.३ प्रतिशत र अन्य मुलुकबाट २९.५ प्रतिशतले वस्तु आयात वृद्धि भएको छ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी १६७ अर्ब ३० करोड बराबरको वस्तु आयात गरिएको छ।अघिल्लो वर्षको सोही अवधिमा यो १३७ अर्ब १३ करोड थियो । जसले नेपालको भारतीय मुद्रा भण्डारणमा समेत दबाव सृजना गर्ने संकेत देखाउँछ।
निर्याततर्फ भैरहवा, विराटनगर, वीरगञ्ज, सुख्खा बन्दरगाह, कैलाली, कृष्णनगर, मेची, नेपालगञ्ज, रसुवा र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट निर्यात घटेको देखिएको छ। यसको अर्थ निर्यात वृद्धिको बोझ केही सीमित नाकामा केन्द्रित भएको हो।
आयाततर्फ भने जलेश्वर र त्रिभुवन अन्तर्राष्ट्रिय भन्सारबाहेकका सबै प्रमुख नाकाबाट आयात वृद्धि भएको छ । जसले देशको व्यापारिक सञ्जाल विस्तार भइरहेको संकेत गर्दछ।
हालसम्मको कुल वस्तु व्यापार घाटा ६.३ प्रतिशतले बढेर १३९७ अर्ब २३ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा १.७ प्रतिशतले घटेको थियो।
यो सन्दर्भमा सकारात्मक पक्ष के हो भने, निर्यात–आयात अनुपात अघिल्लो वर्षको ९.६ प्रतिशतबाट बढेर १५.१ प्रतिशत पुगेको छ। यसले व्यापार असन्तुलन क्रमशः सुधार भइरहेको संकेत गरे पनि कुल घाटा अझै निकै उच्च छ।





Comment