काठमाडौँ । काठमाडौं महानगरपालिकाले उपभोक्तालाई सुरक्षित र स्वच्छ पिउने पानी उपलब्ध गराउन थालेको अनुगमन अभियानअन्तर्गत मापदण्ड नपुगेका ४४ वटा पानी जार जफत गरेको छ। महानगरको कृषि तथा पशुपन्छी विकास विभागले गोङ्गबु बसपार्क क्षेत्र आसपासका स्थानमा गरेको अनुगमनका क्रममा ती जारहरू बरामद गरिएका हुन्।
महानगरको टोलीले निरीक्षण गर्दा कुच्चिएका, फुटेका, अपारदर्शी र पुनःप्रयोग गर्न नमिल्ने अवस्थाका जार भेटिएको जनाइएको छ। ती सबै जार महानगर प्रहरीले जिम्मा लिएर नष्ट गर्ने प्रक्रिया अगाडि बढाइएको छ।
अनुगमन टोलीले प्रशोधित पानी बोक्ने २८ वटा सवारी साधन समेत निरीक्षण गरेको थियो। ती सवारीहरूमा विभिन्न कम्पनीका पानी जारहरू प्रयोग भइरहेको पाइए पनि तीमध्ये थुप्रै जार प्रयोग योग्य मापदण्ड विपरीत रहेको पाइएको हो।
महानगरका अनुसार प्रयोगमा रहेका धेरै जारहरू उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पार्ने अवस्थामा भेटिएका छन्। यसै कारण, महानगरले पानी आपूर्ति गर्ने कम्पनीहरूलाई कडा निर्देशनसमेत दिएको छ।
निर्देशनअनुसार, अबदेखि कुनै पनि कम्पनीले मापदण्ड विपरीत रहेका जारमार्फत पिउने पानी बिक्री–वितरण गर्न नपाउनेछ। साथै, प्रत्येक जारमा स्पष्ट विवरणसहितको लेबल अनिवार्य रूपमा टाँस्नुपर्नेछ।
त्यसैगरी, पानी आपूर्ति गर्न प्रयोग गरिने सवारी साधनमा कम्पनीले जारी गरेको बिल–बिजक अनिवार्य रूपमा साथमा राख्नुपर्ने व्यवस्था गरिएको छ।
काठमाडौं महानगरपालिकाले पानीको गुणस्तर र उपभोग्य सामग्रीको निगरानी गर्न आगामी दिनमा समेत यस्ता नियमित अनुगमन जारी राख्ने बताएको छ। उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वच्छ र सुरक्षित पानी वितरण प्रणालीलाई प्रभावकारी बनाउने महानगरको भनाइ छ।
यसअघि पनि महानगरले फलफूल, तरकारी, मासु तथा डेरीजन्य उत्पादनका व्यवसायमा निगरानी बढाउँदै आएको थियो। अब उपभोग्य पिउने पानी क्षेत्रमा समेत स्वास्थ्य मापदण्ड कार्यान्वयन गराउने उद्देश्यसहित कारबाही अघि बढाइएको हो।
Comment