काठमाडौं । ललितपुरको ग्वार्को चोकमा निर्माण भएको बहुप्रतिक्षित ग्वार्को फ्लाइओभर आजदेखि औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। सडक विभागका अनुसार सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेको फ्लाइओभर अपराह्न ४ बजे एक विशेष समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रममा मन्त्री, सचिव तथा अन्य सरकारी अधिकारीहरूको पनि उपस्थिति रहनेछ।
उक्त फ्लाइओभरको निर्माण कार्य २०७८ पुस २७ गते सुरु गरिएको थियो। दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले समयमै काम सक्न सकिएन। निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनी आशिष–समानान्तर–रेलिगियर जेभीले अन्तराष्ट्रिय प्रविधिको प्रयोग गर्दै अन्ततः ३ वर्ष ४ महिनामा निर्माण कार्य सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको हो।
इन्जिनियरिङ, प्रोक्युरमेन्ट एण्ड कन्ट्रक्सन ९भ्एऋ० मोडेलमा निर्माण गरिएको यो फ्लाइओभरको ठेक्का १७ करोड रुपैयाँमा सम्झौता गरिएको थियो। निर्धारित समयमा काम नसकिएपछि ठेकेदार कम्पनी पेनाल्टीमा समेत परेको सडक विभागले जनाएको छ।
ग्वार्को फ्लाइओभर सञ्चालनमा आउँदा ललितपुरको एक प्रमुख व्यस्त चोकमा सवारी चाप कम हुने, ट्राफिक व्यवस्थापन सहज हुने, र यात्रुहरूलाई राहत मिल्ने अपेक्षा गरिएको छ।
Comment