नेपालको शेयर बजारमा सुधार र प्रवर्धनको लागि अघिल्ला बर्षहरूमा धेरै पहल भइसकेका छन् । नेप्सेको हालको स्थिती हेर्दा खासगरी आन्तरिक सुधार नै गर्नुपर्ने देखेको छु । आन्तरिक प्रशासनदेखि बाह्य साझेदारी र प्रविधिमा आधारित आधुनिकीकरणसम्मका कदमहरूमा जोड दिँदै दीर्घकालीन उन्नतिको रुपमा रुपान्तरण गर्ने सोच छ । साथै, नेप्सेले विदेशी पूँजी र प्रविधि ल्याउन रणनीतिक साझेदार खोज्ने योजना अगाडि बढाएको छ । मेरा यी नीतिगत कदमहरूले नेप्सेलाई अहिले मात्र होइन मेरो कार्यकालपश्चात् पनि निरन्तर सशक्त र टिकाउ पुँजीबजार बनाउन सहयोग पुग्ने विश्वास लिएको छु ।
मैंले अघि सारेका योजनाहरुमा पनि कर्पोरेट संस्थागत सुशासनका कुराहरु छन् । जसले सञ्चालक समितिको कर्तव्य र उत्तरदायित्वलाई प्रस्ट र पारदर्शी बनाउन सहयोग गर्छ । त्यस्तै विदेशी र घरेलु साझेदारहरूलाई आकर्षित गर्न पनि मद्दत गर्छ । त्यसैगरी, नयाँ निगमित संरचनाले आर्थिक क्षेत्रका विभिन्न वित्तीय संस्था र व्यापारिक प्रतिष्ठानलाई समान रूपमा समायोजन गर्न मद्दत पुग्ने देखेको छु । अर्को भनेको नेप्सेले पुँजीबजारलाई आधुनिकीकरणसँगै प्राविधिक उपकरणहरुमा पनि जोड दिएको छ । टीएमएस लगायत इन्टरनेट–आधारित अटोमेटेड ट्रेडिङ प्रणाली लागू भइसकेको छ तर यसको प्रयोगकर्ता तिब्र बनाउन थप सुधार आवश्यक छ । हामीले इन्ट्रा–डे (दिनभरिको तिब्र बजार) कारोबार, सर्ट सेलिङ र डेरिवेटिभ्स जस्ता सुविधाहरू विस्तारै समेट्ने पनि सोचेका छौं । जसले कारोबार प्रक्रिया छरितो, निष्पक्ष र पारदर्शी बनाउनेछ । साथै, बजारको दीर्घकालीन प्रतिस्पर्धा तथा स्थायित्वमा पनि योगदान पुर्याउने छ ।
सेबोन र नेप्सेबीच समन्वय र सहकार्य
पुँजीबजारको नियमन र विकासका लागि नियामक निकाय सेबोन र नेप्सेबीच समन्वय एक चुनौती हो । दुबै निकायबीचको तालमेल बढाउन एकदमै आवश्यक हुन्छ । सेबोन र नेप्सेले नियमित जानकारी आदानप्रदान गरी एकअर्काका नीतिहरू समन्वय गर्नुपर्छ । जस्तै, इनसाइडर ट्रेडिङ, सर्कुलर कारोबारलगायत विषयहरूमा साझा अनुगमन टोली बनाउन सकिन्छ । साथै, बजार सुधारका रणनीति बनाउँदा संयुक्त कार्यदल बनाएर नीतिगत सल्लाह लिन सकिन्छ । यो सहकार्यले नियामक प्रतिबन्ध र बजार सञ्चालनबिचको अवरोध हटाउँदै पूँजी बजारको समग्र विश्वसनिसता र पारदर्शीता बढ्ने देखिन्छ ।
दिर्घकालिन रूपमा नियामक र बजारबीच सहजीकरण बलियो भयो भने दुवै पक्ष मिलेर नवप्रवर्तन र सुधारका पहलहरू कार्यान्वयन गर्न सहज हुनेछ । यसले लगानी वातावरण सुचारु पार्न र नेपालको पूँजीबजारलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी स्तरमा लैजान मद्दत पुर्याउने छ । तर अहिले केही बाहिरी हल्ला र केही मिडियामा आएका समाचारले राम्रो छैन भनेर प्रचारप्रसार गरिएका छन् । त्यो सबै मिथ्या हुन । किनभने म यहाँ आएदेखि सेबनको सम्पर्कमै छु । त्यस्तो केही देखेको छैन् । अझ अहिले सेबोनसँग प्रत्येक महिना मासिक बैठक बसेर समझदारी कायम गर्ने गरिरहेका छौं । मासिक बैठकले सम्बन्ध चिस्याउने भन्दा पनि झनै मजबुद बन्ने विश्वास लिएको छु ।
पारदर्शिता, सूचना प्रवाह र इनसाइडर ट्रेडिङ नियन्त्रण
पुँजीबजारमा अनुचित क्रियाकलाप रोक्न कडाइ अनिवार्य छ । यस्ता अनुचित क्रियाकलाप रोक्न पहिलो कुरा भनेको संस्थागत सुशासनमा नै जोड दिनुपर्छ । मैले पदभार सम्हालेको धेरै समय भएको छैन् । तत्काल केही गर्न सकेको छैन् । हाललाई नेप्से पेजको स्तरोन्नती गर्ने सोचे छु । यसको सुरुवात नेप्से पेजमा सुझाव पेटिका भनेर नयाँ डेभलपमेन्ट थपेको देख्न सकिन्छ । यसले सबैमा सकारात्मक प्रभाव परेको देखिन्छ । त्यसलाई उच्च व्यवस्थापनका व्यक्ति बसेर छलफल गरेर सकेको समाधान गर्छौं । नसकेका समस्याहरुलाई संचालक समितिहरुसँग समन्वय गरेर भएपनि निराकरण गर्छौं । यो संगै अन्य सफ्टवेयरको काम पनि सकिएपछि हामीसंग भएका लिस्टिङ कम्पनीहरुको सबै प्रतिवेदनहरु पनि त्यहाँ राख्ने व्यवस्था गर्छौं ।
अर्को भनेको नेप्सेमा भएको सुपरिवेक्षण शाखाले सदस्य दलाल (स्टक डिलर,स्टक ब्रोकरहरु) जतिपनि सदस्य छन। उनीहरुको मातहतबाट जति कारोबार भइरहेको छ । त्यसको निगरानी गरिरहेको हुन्छौ । त्यसमा कसैले पनि हेरफेर गरेको वा इनसाइडर ट्रेडिङ्र गरेको थाहा पाएमा निर्देशिका अनुसार सचेत गराउने र आवश्यक परे ऐनले दिएको कानुनी उपचारको बाटो पनि अपनाउछौं । यस्ता ट्रेडिङ नियन्त्रणका लागि सेबोन र नेप्सेबीच सहकार्य गरेर आन्तरिक सूचनाको प्रयोगलाई नियमन गर्न नयाँ नियमहरू ल्याउन सकिन्छ । जस्तो कि सेक्योरिटिज बिजनेस रेगुलेशनले प्रस्ताव गरेको जस्तै सबै इनसाइडर लेनदेन सेबोनमा कार्य दिनभित्रै सूचित गर्नुपर्ने प्रावधान लागू गर्ने सोच छ । यो कदमले गोप्य सूचनाको दुरुपयोग घटाएर बजारप्रति आम लगानीकर्ताको विश्वास जित्न सकिन्छ । साथै, तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले ‘पम्प एण्ड डम्प’, ‘सर्कुलर कारोबार’ र अन्य विकृत गतिविधिहरूलाई कडाइले अनुसन्धान गरी कारबाहीमा ल्याउन समेत निर्देशन दिएका थिए । यस्ता कदमले बजारमा भएका भ्रष्टाचारलाई कम गरी दीर्घकालिन स्थायित्वमा ठूलो भुमिका खेल्नेछ ।
बजारमा उतारचढाव र लगानीकर्तामा जागरूकता
नेपाली शेयर बजारमा बेलाबेलामा तिव्र उतारचढाव आउने प्रवृत्ति देखिन्छ । लगानीकर्तालाई बुझ्नका लागि दीर्घकालिन शिक्षा आवश्यक देखिन्छ । यस्ता कार्यक्रमले भविष्यमा नकारात्मक उतारचढावमा पनि लगानीकर्तालाई सचेत राख्दै बजार भोल्याटिलिटी कम गर्नेछ । म आम लगानीकर्तालाई के भन्न चाहन्छु भने नेप्से एउटा बजार हो । नेप्सेले बजारको सिस्टम चलाउने गर्छ । हामीले गर्ने भनेको बजारमा नियमभन्दा बाहिर गएर कसैले गलत कार्य गरिरहेको छ कि, इनसाइडर ट्रेडिङहरु भइरहेका छन कि भनेर हेर्ने हो । यदी त्यस्ता कार्य भए गरेका भेटिए भने कानुनी प्रक्रियामा जानुपर्ने हुन्छ । ती बाहेक बजारका जो सेयर किन्ने र बेच्ने छन् उनीहरुको डिमाण्ड अनुसार मुल्य निर्धारण हुने हो । यद्यपी, लगानीकर्ताहरुलाई सेकेण्डरी मार्केट भइसकेपछि जुन स्टकमा लगानी गर्छन त्यस कम्पनीको पहिलेको पर्फमेन्स र आगामी दिनमा यसमा लगानी गर्दा के नतिजा हात लाग्छ भन्ने विषयमा गहन अध्ययन गरेपछि मात्र विश्वस्त भएर लगानी गर्न जरुरी छ । क्यापिटल मार्केटमा पैसा डुब्ने डरले नआउने होइन, लगानी पनि गर्नुपर्छ, जोखिम मोलेर भएपनि बजारमा आउनुपर्छ ।
पुँजीबजार भनेको पैसालाई काम लगाएर पैसा कमाउने क्षेत्र हो । अध्ययन गरेर आफ्नो जोखिम भार बहन गर्न सक्ने क्षमता नियालेर मात्र लगानी गर्नुन भन्न चाहन्छु । नेपाली बजार तथा विश्वबजारको सुचनाले नेप्सेलाई असर गर्ने भएकाले यसका लागि निश्चित क्षेत्रले पुँजी बजारलाई असर गरेको छ भन्ने हुँदैन । यस्ता विभिन्न क्षेत्रहरु छन् जसले बजारलाई चलाएमान बनाइरहेका हुन्छन् । मुख्य कुरा भनेको सेयर बजारमा अफवाह र झूठो खबर फैलिन नदिन प्रेस विज्ञप्ति, आधिकारिक एलर्ट तथा सामाजिक सञ्जाल अनुगमन गर्न आवश्यक छ । यसले लगानीकर्तालाई वास्तविक तथ्यमा पहुँच दिलाउने र बजारमा अनावश्यक अस्थिरता कम गर्नेछ ।
पूर्ण डिजिटल रुपान्तरण र सरकारको भूमिका
पछिल्ला वर्षमा नेपालले अनलाइन ट्रेडिङको सुरुआत गरेपनि यसको प्रयोग अपेक्षाकृत कम देखिएको छ । अनलाइन ट्रेडिङ सुरु भइसकेको केही समयसम्म पनि थोरै लगानीकर्ता मात्र यसको पहुँचमा थिए । अनलाइन ट्रेडिङमा क्रेज बढ्न थालेको धेरै भएको छैनन् । अझै पूर्ण इलेक्ट्रोनिक सेयर कारोबार, रियलटाइम मोनिटरिङ र डिजिटल सेयरट्रान्सफर प्रणालीको विकासमा जोड दिनुपर्ने हुन्छ । यसलाई आगामी आर्थिक बर्षको बजेटमा कुरा राखेर साउनदेखि साना लगानीकर्ताहरुको हक हितका लागि सामाजिक उत्तरदाहित्व अन्तरगत र नेप्से स्कुल मोडलमा आफ्नै आधिकारिक युट्युब च्यानलमार्फत चेतनामुलक भिडियोहरु उपलब्ध गराउँछौं । जतिपनि लगानीकर्ता छन्, सबै बजार जानकार लगानीकर्ता मात्र छैनन् । अधिकांश लगानीकर्ता साथीभाइको भर र लहलहैमा अत्तालिएर किनबेच गर्ने गरेका छन् । ती साना लगानीकर्ताहरुलाई युट्युव च्यानलमार्फत संस्थाको बारेमा सूचना दिने र ध्यान दिने विषयबारे भिडियो बनाएर जाने योजना छ ।
सरकारको पनि यस क्षेत्रमा रुपान्तरणमा महत्वपूर्ण भूमिका देखिन्छ । सरकारले डिजिटल आर्थिक नीति, साइबर सुरक्षासम्बन्धी अधिनियम र इलेक्ट्रोनिक हस्ताक्षर लागू गरी डिजिटाइजेशनलाई प्रोत्साहित गर्नुपर्छ । जसले, नेप्सेमा सञ्चालन हुने अनलाइन ट्रेडिङ एप र डाटा पोर्टलहरूले लगानीकर्तालाई सजिलो पहुँच दिन सक्छन् । यसले बजारमा भएको पहुँचलाई बलियो बनाउँछ । त्यसमा पनि नेप्से सरकारको स्वामित्व भएको संस्था भएकाले अन्य देशको स्टक एक्सचेञ्जहरुसंग सम्पर्क गरेर उनीहरुबाट नै रणनीतिक साझेदारको रुपमा जिटूजी मोडलमा गएर प्रविधि भित्र्याउन सकिने सम्भावना देखिन्छ । किनकी, ती प्रविधि पहिले नै परीक्षण भइसकेको हुन्छन् । त्यसैले प्रविधि र प्राविधिक जनशक्ति व्यवस्था गरिदिने हो भने आर्थिक बर्षमा नेप्सेको पुर्नरसंरचना र रणनीतिक परिवर्तन संभव छ ।
( नेपाल स्टक एक्सचेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चापागाईंसँग अर्थबजारकर्मी नमिता दुलालसँगको कुराकानीमा आधारित)
Comment