अब १० लाखभन्दा बढीको घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अब १० लाखभन्दा बढीको घरजग्गा कारोबार बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने



काठमाडौं। अबदेखि घरजग्गा खरिदबिक्रीको लेनदेन अनिवार्य रूपमा बैंकिङ प्रणालीमार्फत गर्नुपर्ने भएको छ।भूमिव्यवस्थापन तथा अभिलेख विभागले ‘सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा जारी गरिएको निर्देशन, २०८२’ को कार्यान्वयनका लागि यस्तो व्यवस्था लागू गरेको हो।

विभागले सबै भूमिसुधार तथा मालपोत कार्यालय र सम्बन्धित निकायहरूलाई परिपत्र जारी गर्दै १० लाखदेखि ५० लाख रुपैयाँसम्मको घरजग्गा कारोबार बैंकिङ प्रणाली वा विद्युतीय भुक्तानी प्रणालीमार्फत गर्नुपर्ने निर्देशन दिएको छ।

५० लाख रुपैयाँभन्दा बढीको कारोबार भने विद्युतीय प्रणालीमार्फत सोझै वा ‘गुड फर पेमेन्ट’ चेकमार्फत मात्र गर्न पाइनेछ।घरजग्गा कारोबारको लिखत तयार पार्दा खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट अनिवार्य रूपमा संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

बैंकमार्फत राजस्व दाखिला गर्ने कार्यालयको हकमा, खरिदबिक्री कारोबारको दर्ता शुल्क तथा दस्तुर खरिदकर्ताको खाताबाट तिर्नु पर्नेछ भने लाभकरबापतको रकम बिक्रीकर्ताको खाताबाट सम्बन्धित राजस्व खातामा जम्मा गरिनुपर्नेछ। त्यस्तै, १० लाख रुपैयाँभन्दा बढीको बैनाबट्टा भएको खण्डमा स्थानीय तहले प्रमाणित गरेको कागजातसँगै खरिदकर्ताबाट बिक्रीकर्ताको खातामा रकम बैंकिङ वा विद्युतीय माध्यममार्फत जम्मा भएको विवरण अनिवार्य रूपमा पेश गर्नुपर्नेछ।

सरकारको यो नयाँ कदम सम्पत्ति शुद्धीकरण रोकथाम तथा पारदर्शी आर्थिक कारोबारको प्रवर्धनतर्फ लक्षित भएको विभागले स्पष्ट पारेको छ।

प्रकाशित : 4 June, 2025 1:25 pm