कटारी, उदयपुर । शौर्य सिमेन्ट इ. लि. को आर्थिक सहयोगमा उदयपुरको कटारी नगरपालिका–७, मर्जेतपुरस्थित सरस्वती आधारभूत विद्यालय र कटारी नगरपालिका–८, आहालेस्थित प्राथमिक स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरिएको छ।
भवन उद्घाटन गर्दै कटारी नगरपालिकाका मेयर राजेश चन्द्र श्रेष्ठले शिक्षा र स्वास्थ्य क्षेत्रलाई सशक्त बनाउने शौर्य सिमेन्टको यस्तो प्रयासलाई सह्राहना गरे।
शौर्य सिमेन्टको सामाजिक उत्तरदायित्वले विद्यालयको संरचना बनेको बताउँदै अब संरचनाजस्तै शैक्षिक गुणस्तर सुधार्न आवश्यक रहेको भन्दै त्यसका लागि अभिभावकको सक्रियता जरुरी रहेको बताए।
उक्त कार्यक्रममा सहभागी शौर्य सिमेन्टका सिनियर भाइस प्रेसिडेन्ट राजन झाले सामाजिक उत्तरदायित्वलाई स्थानीय तहसँग सहकार्य गरेर अघि बढाइएको बताए।
उनले भने, “देशको समृद्धिका लागि आर्थिक र राजनीतिक क्षेत्र दुवै सबल हुनुपर्छ।” उनले कम्पनीले निर्माण क्षेत्रमा हुने असर न्यूनीकरणका लागि इन्जिनियरको टोली खटाएर अध्ययन र समाधानको प्रयास गरिरहेको पनि बताए।
त्यस अवसरमा वडाध्यक्ष तथा नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुविन ढुंगानाले विद्यालय र सामुदायिक विकासमा सहयोग गरेकोमा धन्यवाद दिँदै खानी क्षेत्र नजिकको नदी उचाइ र सम्भावित जोखिमप्रति पनि शौर्यलाई सजग रहन आग्रह गरे।
विद्यालयका प्रधानाध्यापक जयबहादुर तामाङले कम्पनीले २०५६ सालदेखि विद्यालयलाई निरन्तर सहयोग गर्दै आएको उल्लेख गर्दै विद्यालय परिवारको तर्फबाट सम्मान गरेका थिए। “शिक्षक व्यवस्थापनदेखि भौतिक सामग्रीसम्ममा सहयोग पाएका छौँ”, उनले भने।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमबहादुर मगरले पनि उद्योगको निरन्तर सहयोगप्रति आभार प्रकट गरे। कार्यक्रममा उद्योगले विद्यार्थीहरूलाई खेल तथा शैक्षिक सामग्री वितरण गर्नुका साथै सहभागी अतिथिलाई मायाको चिनो प्रदान गरेको उद्योगका ब्रान्ड प्रबन्धक अनुज महतले जानकारी दिए।
यसै दिन वडा नम्बर ८ मा निर्माण सम्पन्न भएको प्राथमिक स्वास्थ्य केन्द्र भवन पनि हस्तान्तरण गरिएको हो। नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुरेश दाहालले भवन हस्तान्तरणसँगै सेवा विस्तार सुरु हुने जानकारी दिए।
कार्यक्रममा मेयर श्रेष्ठले स्वास्थ्य पहुँचका लागि यो भवन महत्वपूर्ण हुने बताए। वडाध्यक्ष नविन्द्र तामाङले वडाको भूगोल ठूलो भएकाले यस्तो केन्द्रले सेवा वितरणमा सहजता ल्याउने विश्वास व्यक्त गर्दै, अब वडालाई एम्बुलेन्सको आवश्यकता रहेको समेत औंल्याए।
शौर्य सिमेन्टद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको यो योगदानले शिक्षा र स्वास्थ्यजस्ता आधारभूत सेवाहरूको प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको छ। नगरप्रमुख श्रेष्ठज्यूको समर्थनले यो योगदानलाई अझ प्रभावशाली र उदाहरणीय बनाएको थियो।
शौर्य सिमेन्टले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य तथा समुदाय हितका विविध सामाजिक कार्यहरूमा निरन्तर सहकार्य र योगदान गर्दै जाने दृढ प्रतिबद्धता व्यक्त गरेको छ, जसबाट समाजका थप व्यक्तिहरू लाभान्वित हुने विश्वास लिइएको छ।
Comment