काठमाडौं । कोशी प्रदेशमा रोजगारी, सीप विकास र उद्योगबीचको सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले “सीप उत्सव २०८२” आयोजना गर्न लागिएको छ। उद्योग संगठन मोरङको नेतृत्वमा र स्वीस सहयोग नियोगको सहकार्यमा सञ्चालित ‘इन्स्योर परियोजना’ अन्तर्गत आयोजित सो उत्सव जेष्ठ १० र ११ गते विराटनगरस्थित उद्योग संगठन मोरङको सचिवालयमा हुने भएको छ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्, कम्प्युटर एसोसिएसन अफ नेपाल, होटल एशोसिएसन र नेपाल अटोमोबाइल डिलर्स एशोसिएसनजस्ता संस्थाहरूको सहकार्यमा आयोजना गरिँदै गरिएको यो उत्सवले उद्योग–शिक्षा सहकार्यलाई व्यवहारिक रुपमा प्रदर्शन गर्नेछ।
उत्सवमा सूचना प्रविधि, होटल व्यवस्थापन, अटोमोबाइल र इलेक्ट्रिकल इन्जिनियरिङ अध्ययनरत विद्यार्थीहरूबीच अन्तिम सीप प्रतिस्पर्धा हुनेछ। झापा, मोरङ र सुनसरीका प्राविधिक शिक्षालयबाट छनोट गरिएका १८ प्रशिक्षार्थीहरूले प्रतिस्पर्धा गर्नेछन्। विजयी सहभागीलाई “कोशी प्रदेश स्किल आइकन” को उपाधि दिइनेछ।
करियर काउन्सेलिङ, लाइभ तालिम र अनुभव साटासाटका माध्यमबाट करिब १००० बढी युवाहरूले रोजगारी र भविष्य निर्माणमा मार्गदर्शन पाउने आयोजकले बताएका छन्। कार्यक्रममा उद्योग प्रतिष्ठान, निजी क्षेत्र, सरकारका सरोकारवाला, र तालिम प्रदायक संस्थाबीच समन्वय गर्दै दक्ष जनशक्ति उत्पादन र रोजगारी सुनिश्चित गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ।
सीप उत्सवको प्रारम्भिक मोडेलबाट प्राप्त अनुभवले प्राविधिक शिक्षा प्रणालीलाई उद्योगसँग जोड्ने नीति निर्माणमा समेत योगदान पुग्ने विश्वास आयोजकको छ।
Comment