बेपत्ता र मेलमिलाप आयोगमा अध्यक्ष र सदस्यले गरे शपथ ग्रहण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बेपत्ता र मेलमिलाप आयोगमा अध्यक्ष र सदस्यले गरे शपथ ग्रहण



काठमाडौँ

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका नव नियुक्त अध्यक्षहरूलाई आज पद तथा गोपनीयताको शपथ गराएका छन्।

सर्वोच्च अदालतमा आयोजित समारोहमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगकी अध्यक्ष लीलादेवी गडतौला र सत्यनिरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष महेश थापाले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहणपछि दुवै अध्यक्षहरूले आ–आफ्ना आयोगका सदस्यहरूलाई पनि पद तथा गोपनीयताको शपथ गराए।

सत्यनिरूपण तथा मेलमिलाप आयोगमा थापासँगै अच्युतप्रसाद भण्डारी, डा. टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा सदस्यका रूपमा रहेका छन्।

त्यस्तै, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा अध्यक्ष गडतौलासँगै गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य नियुक्त भएका छन्।

मन्त्रिपरिषद्को गत जेठ १ गतेको बैठकले सिफारिस समितिको सुझावका आधारमा दुवै आयोगमा अध्यक्ष र सदस्यहरूको नियुक्ति गरेको थियो। यी आयोगहरू सत्यनिरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग ऐन, २०७१ बमोजिम गठन गरिएको हो।

द्वन्द्वकालमा भएका गम्भीर मानव अधिकार उल्लंघन तथा युद्धअपराधसम्बन्धी सत्यको खोजी, पीडितलाई न्याय र दण्डहीनता अन्त्य गर्ने उद्देश्यले गठन गरिएका यी आयोगहरूमार्फत संक्रमणकालीन न्याय प्रक्रिया अघि बढाउने सरकारी तयारी छ।

प्रकाशित : 19 May, 2025 8:50 pm