पोखरामा बीमा सचेतनाका लागि विद्यार्थीको र्‍याली र सडक नाटक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

पोखरामा बीमा सचेतनाका लागि विद्यार्थीको र्‍याली र सडक नाटक



पोखरा । “सबैका लागि बीमा, सुरक्षित भविष्यका लागि आधार” भन्ने मूल नाराका साथ ५७ औं बीमा दिवस २०८२ को अवसरमा पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस अन्तर्गत बीमा, बैंकिङ तथा लगानी अध्ययन समूह (SGBI) ले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ।

बीबीए–बीआई र बीबीए फाइनान्स अध्ययनरत विद्यार्थीहरूको अगुवाइमा आयोजित कार्यक्रममा बीमा सम्बन्धी र्‍याली, सडक नाटक, नृत्य तथा नारा प्रदर्शनजस्ता विविध गतिविधि समावेश गरिएको थियो। कार्यक्रम स्कूल अफ बिजनेसको प्रांगणमा विद्यालयका निर्देशक डा. श्रृजन ज्ञवालीले ब्यानरमा हस्ताक्षर गर्दै उद्घाटन गरेका थिए।

र्‍याली खुदी बजार, पावर हाउस लगायत लेखनाथका मुख्य क्षेत्रहरू परिक्रमा गरी बीमाको आवश्यकता, लाभ र सामाजिक सुरक्षामा यसको भूमिकाबारे जनचेतना फैलाउने उद्देश्यसहित सम्पन्न भयो। कार्यक्रममा करिब २०० विद्यार्थी प्लेकार्डसहित सहभागी भएका थिए।

सडक नाटकमार्फत बीमा नभएको अवस्थामा आउने आर्थिक संकट र बीमा हुँदा प्राप्त हुने सुरक्षा कवचलाई प्रभावशाली ढंगले प्रस्तुत गरिएको थियो। कार्यक्रमको सभापतित्व SGBI अध्यक्ष कुसुम श्रेष्ठले गरेकी थिइन् भने सञ्चालन सचिव अनुभूति घिमिरेले गरेकी थिइन्।

अध्यक्ष श्रेष्ठले बीमालाई नाफामुखी मात्र नभई सामाजिक सुरक्षा र जोखिम व्यवस्थापनको आधारका रूपमा बुझ्न जरुरी रहेको उल्लेख गर्दै, “हामी यो कार्यक्रममार्फत बीमा नीतिको व्यावहारिक महत्त्व जनमानसमा पुर्‍याउन चाहन्छौँ,” भनिन्।

SGBI ले आगामी दिनहरूमा वित्तीय साक्षरताका थप कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यस कार्यक्रमले पोखरा क्षेत्रका नागरिकमा बीमा सेवाप्रति चेतना अभिवृद्धि गर्न सहयोग पुर्‍याउने विश्वास आयोजकको छ।

प्रकाशित : 15 May, 2025 3:11 pm