युवा उद्यमी तथा लोमस फर्मास्युटिकल्सका डाइरेक्टर प्रणवजंग पाण्डेले सामाजिक सञ्जालमार्फत नेपालको औद्योगिक विकासमा देखिएको अवरोधबारे स्पष्ट धारणा सार्वजनिक गरेका छन्।
सामाजिक सञ्जाल (फेसबुक) मार्फत विचार व्यक्त गर्दै पाण्डेले लेखेका छन्, “अन्तराष्ट्रिय आर्थिक स्थिति, व्यक्तिगत स्वार्थकेन्द्रित राजनीति र उद्योगमैत्री नीति नहुनु नै औद्योगिक विकासका प्रमुख वाधक हुन्। अनि कसरि उठ्छ देशको अवस्था?”
उद्योग क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने पाण्डेले राजनीतिक नेतृत्वको अस्थिरता, नीतिगत अस्पष्टता तथा दीर्घकालीन आर्थिक रणनीतिको अभावलाई औद्योगिक प्रगतिको मुख्य चुनौतीको रूपमा औंल्याएका हुन्।
उनको टिप्पणीले अहिलेको समयमा व्यवसायी तथा उद्यमशील युवाहरूले भोगिरहेका संरचनागत समस्याको झल्को दिएको छ।
पाण्डेले सरकार तथा नीति निर्माताहरूलाई दीर्घकालीन सोचसहित उद्योगमैत्री वातावरण निर्माण गर्न आग्रह गरेका छन्। अन्यथा देशको आर्थिक पुनरुत्थान सम्भव नहुने चेतावनी दिएका छन्।
विगत केही वर्षयता आयातमा निर्भर अर्थतन्त्र, निर्यात क्षमताको कमजोरी, बेरोजगारीको वृद्धि र उत्पादनशील क्षेत्रको उपेक्षाका कारण मुलुकको समग्र आर्थिक अवस्था दबाबमा परेको छ।
युवा उद्यमीहरूको सोच र अनुभवलाई नीति निर्माणमा स्थान नदिई समृद्ध नेपालको परिकल्पना पूरा नहुने यथार्थतर्फ पाण्डेको यो स्टाटसले इङ्गित गर्छ।
Comment