साहस उर्जाको नाफामा सुधार, अन्य सुचक कस्ताे ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साहस उर्जाको नाफामा सुधार, अन्य सुचक कस्ताे ?



काठमाडौं । साहस उर्जा कम्पनी लिमिटेडको वित्तीय अवस्थामा सुधार देखिएको छ। चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ८३ करोड ४१ लाख रुपैयाँबराबरको नाफा आर्जन गरेको छ। यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ७४.४५ प्रतिशतले बढी हो।

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४७ करोड ८१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो। कम्पनीको विद्युत बिक्री आम्दानी पनि ५.८४ प्रतिशतले बढेको छ। विद्युत बिक्री आम्दानी २ अर्ब २ करोड रुपैयाँबाट बढेर २ अर्ब १४ करोड रुपैयाँ पुगेको छ । यो अवधिमा कम्पनीले ३३ लाख ३० हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।

कम्पनीको प्रशासनिक खर्च ७ करोड १७ लाख रुपैयाँबाट घटेर ५ करोड ७५ लाखमा सीमित बनेको छ । यस्तै कम्पनीको वित्त खर्च पनि ९१ करोड ६८ लाखबाट घटेर ६२ करोड ९८ लाखमा झरेको छ । कम्पनीले कर्मचारीका लागि बोनस बढाएको छ । अघिल्लो आवमा ९७ लाख ५८ हजार रहेको कर्मचारी बोनस १ करोड ७१ लाख पुगेको छ । कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा ३ अर्ब १० करोड रुपैयाँ रहेको छ ।

३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ३ करोड र कुल चालु दायित्व २ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२९.४२ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६९.२६ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८२.१८ र तरलता अनुपात ०.४८ प्रतिशत रहेको छ ।

प्रकाशित : 6 May, 2025 12:38 pm