काठमाडौं उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काठमाडौं उपत्यकाको चक्रपथ बाहिरका क्षेत्रमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गरिने



काडमाडौं । आयोजना कार्यान्वयन निर्देशनालयले काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं उपत्यकाका चक्रपथ बाहिरका क्षेत्रहरूमा मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्ने भएको छ ।

नेपाल सरकारको बजेट र एसियाली विकास बैंकको सहयोगमा शुरू गर्न लागिएको काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (दोस्रो चरण) अन्तर्गत काठमाडौं, बूढानीलकण्ठ, गोकर्णेश्वर, कीर्तिपुर, भक्तपुर, सूूर्यविनायक र मध्यपुर थिमी नगरपालिकाहरूका मेलम्चीको पानी वितरण सञ्जाल निर्माण गर्न लागिएको हो ।

आयोजनाको दोस्रो चरणमा भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकाका विभिन्न क्षेत्रमा गरी १५१.३० कि मि, कीर्तिपुर, काठमाडौं र चन्द्रागिरी नगरपालिकाका विभिन्न क्षेत्रमा गरी ७५.९८ कि मि, मध्यपुर थिमी नगरपालिका क्षेत्रमा ३०८.१५ कि. मि, कपन र जोरपाटी उत्तर क्षेत्रमा गरी २००.२३ कि मि र जोरपाटी दक्षिण र पेप्सीकोला क्षेत्रमा १३९.७४ कि मि. गरी कूल ८७५.४ कि मि खानेपानी वितरण सञ्जाल निर्माण गर्ने लक्ष्य रहेको छ । जसअन्तर्गत वितरण सञ्जालका ८२८.९२ कि मि पीई पाइप र ४६.४८ कि।मि डिआई पाइप बिच्छ्याइने जनाइएको छ ।

यी क्षेत्रमा खानेपानी वितरण सञ्जाल निर्माण कार्यलाई छिटोछरितो रूपमा अगाडि बढाउनका लागि भक्तपुर, कीर्तिपुर, थिमी, कपन र जोरपाटी उत्तर तथा जोरपाटी दक्षिण र पेम्सीकोला क्षेत्र गरी विभिन्न पाँच प्याकेजमा बर्गीकरण गरी खानेपानी वितरण सञ्जाल निर्माण गरिने भएको छ ।

आयोजनाको दोस्रो चरणमा निर्माण गरिने खानेपानी वितरण सञ्जालबाट ती क्षेत्रका करिव ६३ हजार घरधुरी लाभान्वित हुनेछन् । आयोजनाको दोस्रो चरणको निर्माण कार्य निर्माण शुरू भएको मितिले तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य रहेको जनाएको छ ।

सोही अनुसार काठमाडौं उपत्यका खानेपानी सुधार आयोजन (दोस्रो चरण) को निर्माण कार्य अगाडि बढाउनका लागि आयोजना कार्यान्वयन निर्देशनालयले आवश्यक पूर्वतयारीका कार्य सम्पन्न गरी पाँचवटै प्याकेजको निर्माणका लागि बोलपत्र आह्वान गरेको छ ।

आयोजनाको दोस्रो चरणको निर्माण कार्य सम्पन्न भएपछिको एक वर्षसम्म खानेपानी वितरण सञ्जालको प्रणाली स्थिरीकरण र संचालन सहितको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निर्माण व्यवसायीको हुने प्रावधान राखिएको छ ।

यसअघि, काठमाडौं उपत्यका खानेपानी सुधार आयोजना (पहिलो चरण) अन्तर्गत काठमाडौं उपत्यकामा करिव ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिव ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल निर्माण भइसकेको छ ।

यसैगरी, आयोजनाको पहिलो चरणमैं काठमाडौं उपत्यकाका विभिन्न ९ स्थानमा १० वटा पानीपोखरी निर्माण र सुन्दरीजलस्थित खानेपानी प्रशोधन केन्द्रबाट उपत्यकाका विभिन्न स्थानमा रहेका पानीपोखरीहरूमा थोकरूपमा पानी आपूर्ति गर्न थोक वितरण प्रणालीका ७७ कि।मि। पाइपलाइन बिच्छाउने कार्य समेत सम्पन्न भएको जनाएको छ ।

प्रकाशित : २२ बैशाख २०८२, सोमबार १३:०८