“नेपालमा ‘एयराटिक्स’ को आगमन: स्मार्ट स्टोरेज सेवाको नयाँ युग” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

“नेपालमा ‘एयराटिक्स’ को आगमन: स्मार्ट स्टोरेज सेवाको नयाँ युग”



काठमाडौं । भारतको प्रतिष्ठित स्मार्ट स्टोरेज मार्केटप्लेस ‘एयराटिक्स’ले नेपालमा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ। काठमाडौंको होटल एम्बेसडर, लाजिम्पाटमा आयोजित एक भव्य समारोहका बीच सेवा शुभारम्भ गर्दै कम्पनीले नेपाली उपभोक्तालाई डिजिटल माध्यममार्फत लचिलो भण्डारण, स्थानान्तरण र अन्तिम-माइल लजिस्टिक्स सेवा उपलब्ध गराउने घोषणा गरेको हो।

एयराटिक्सले प्रयोगमा नरहेका ठाउँहरूलाई डिजिटल प्लेटफर्ममार्फत उपयोगकर्तासँग जोड्ने सुविधा दिन्छ। सेवा व्यक्तिगत, व्यवसायिक तथा पर्यटक—सबैका लागि उपयोगी हुने कम्पनीको दाबी छ। कम्पनीले लगेज स्टोरेज, सामान भण्डारण, अर्डर फुलफिलमेन्ट र स्थानान्तरण सेवा प्रदान गर्दै नेपालको बढ्दो शहरीकरण र स्थान व्यवस्थापनको चुनौतीलाई समाधान गर्ने लक्ष्य लिएको छ।

“स्टोरेज समस्या समाधान नै हाम्रो प्रेरणा हो” — सीईओ आदित्य काले

कार्यक्रमको नेतृत्व गर्दै एयराटिक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत (CEO) आदित्य कालेले नेपालमा कम्पनीको उपस्थिति विस्तार गर्नु एक महत्वपूर्ण कदम भएको बताए। “स्टोरेज यो क्षेत्रकै प्रमुख समस्या हो र यही समस्याले हामीलाई एयराटिक्स सुरु गर्न प्रेरित गर्‍यो,” उनले भने। उनले कम्पनीले अघिल्लो तीन महिनादेखि नेपालमा सेवा दिइरहेको र हालसम्म ५०० भन्दा बढी ग्राहकलाई सेवा दिइसकेको जानकारी पनि दिए।

हाल एयराटिक्सको सेवा काठमाडौंमा सीमित भएपनि, निकट भविष्यमा पोखरा र बीरगञ्जजस्ता प्रमुख सहरमा पनि विस्तार गरिने कम्पनीको योजना छ। साथै, उनले नेपाली प्रयोगकर्ताहरूमा पनि भण्डारणसम्बन्धी समस्याहरू देखिएको उल्लेख गर्दै, “हामी यहाँ उपस्थित हुन पाउँदा निकै खुसी छौं,” भने।

प्रविधिको प्रयोगमार्फत रोजगारी र समाधान दुबै

काळेका अनुसार, एयराटिक्सले प्रविधिको प्रयोगमार्फत भण्डारण खोज्ने र दिने व्यक्तिहरूबीच सहज सम्बन्ध स्थापना गर्दै, एकातर्फ उपभोक्तालाई समाधान दिने र अर्कोतर्फ घरधनी तथा व्यवसायीहरूका लागि आम्दानीको अवसर सिर्जना गर्नेछ।

स्टार्टअप र लजिस्टिक्स नेतृत्वकर्ताहरूबीच छलफल

कार्यक्रममा नेपालका लजिस्टिक्स तथा स्टार्टअप क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। ‘From Idea to Execution — What Makes a Startup Stand Out?’ शीर्षकको प्यानल छलफलमा ८८ कलेक्टिभका संस्थापक प्रतिक अर्यालको moderation मा उपाय सिटी कार्गोका संस्थापक सुमन रायमाझी, दराज नेपालका प्रमुख लजिस्टिक्स अधिकृत सन्तोष बिस्ट, मेरो स्टोरेजका सह-संस्थापक समय गिरी र एयराटिक्सका सीईओ आदित्य कालेले विचार राखेका थिए।

उपाया सिटी कार्गोका रायमाझीले नेपालमा लजिस्टिक्सबारे जनचेतना अभावका बीच सुरु गरिएको सेवा अहिले जनमानसमा बिस्तारै लोकप्रिय बन्दै गएको बताए। “सुरुमा ट्रक कार्गोदेखि सुरक्षित ढुवानीसम्म विभिन्न मागहरू आयो, र हामीसँग सेवा विविधिकरणको प्रक्रिया लामो तर प्रभावकारी रह्यो,” उनले उल्लेख गरे।

प्यानल छलफलपछि मेरो स्टोरेजका सञ्जन शर्मा तथा सिटी एक्सप्रेसका निर्देशक हेम गुरुङले कार्यक्रमको समापन गरेका थिए।

एयराटिक्सबारे संक्षेपमा

एयराटिक्स एक डिजिटल मार्केटप्लेस हो जसले भण्डारण सेवा खोज्नेहरू र खाली स्थान भएका घरधनी वा व्यवसायीहरूलाई जोड्छ। सामान तथा सवारी दुबैका लागि भण्डारणको सुविधा उपलब्ध गराउँदै, कम्पनीले लोकेशन र बजेटअनुसार लचिलो, मागअनुसार सेवा दिने लक्ष्य राखेको छ।

प्रकाशित : १६ बैशाख २०८२, मंगलवार १६:१८