काठमाडौं । चैत १६ गतेदेखि १३ वैशाखसम्म दशरथ रंगशालामा हुन गइरहेको नेपाल सुपर लिग (एनएसएल) २०२५ को तेस्रो संस्करणमा खल्ती र आइएमई पे एक साथ टिकटिङ पार्टनरका रूपमा आबद्ध भएका छन्।
फुटबल फ्यानहरूले खल्ती एप वा आइएमई पे एपबाट सजिलै टिकट काट्न सक्नेछन्। एनएसएलका अघिल्ला संस्करणहरूमा आइएमई पे तथा नेपाल प्रिमियर लिग, अर्जुन ट्रफी, इन्टरनेसनल उमन्स च्यामपेन्सिपजस्ता लिगमा खल्ती टिकटिङ पार्टनरको सफल रूपमा प्रस्तुत भइसकेका छन्।
यी दुवै डिजिटल वालेटको संयुक्त टिकटिङ साझेदारीले नयाँ ऊर्जा थप्नेमा विश्वस्त रहेको साझेदारहरू बताउँछन्। नेपाल सुपर लिगका प्रबन्ध निर्देशक श्रेयान्स कार्की उत्साह व्यक्त गर्दै भन्छन्, ‘नेपालका दुई विश्वसनीय डिजिटल भुक्तानी प्लाटफर्मसँग साझेदारी गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौँ।’ आइएमई पेका कार्यकारी अधिकृत प्रवीण रेग्मीले खल्ती र एनएसएलसँग सहकार्य गर्दै नेपाली फुटबलको विकासमा योगदान र खेलप्रेमीहरूको अनुभवलाई डिजिटल सलुसनद्वारा थप सहज बनाउने लक्ष्य राखेको बताए।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पनि खुसी व्यक्त गर्दै भने, ‘हामी स्वयं खेलप्रेमीको रूपमा दर्शकहरूलाई अनलाइन प्लाटफर्ममार्फत सजिलै आफ्नो सिट सुरक्षित गर्ने सुविधा प्रदान गर्न पाउँदा खुसी छौँ। हामी दशरथ रंगशालामा गुन्जिने नाराहरू, त्यो जोस र उमंग अनुभव गर्न प्रतीक्षारत छौँ। अब गुन्जिनेछ रंगशाला, अब गुन्जिनेछ नेपाल।’
एनएसएलको यो संस्करणमा ललितपुर सिटी, काठमाडौं रेजर्स, बुटवल लुम्बिनी, झापा, चितवन, पोखरा थन्डर र धनगढी गरी सात फुटबल क्लब भिड्दै छन्।
Comment