राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन



काठमाडौं नेपाल सरकार मन्त्रिपरिषद्ले राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो।

समितिमा पूर्व गभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल सदस्य रहेका छन्। राष्ट्र बैंक ऐन, २०५८ अनुसार, गभर्नर नियुक्तिका लागि गठित समितिले तीनजनाको नाम सिफारिस गर्नेछ, जसमा एकजना अनिवार्य रूपमा हालका डेपुटी गभर्नरमध्येबाट हुनुपर्नेछ।

वर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २५ गते पूरा हुँदैछ। नयाँ गभर्नर नियुक्तिको प्रक्रिया समयमै अघि बढाउन सरकारले सिफारिस समिति गठन गरेको हो। समितिले केही दिनभित्र सिफारिस सूची मन्त्रिपरिषद्मा पेश गर्नेछ, जसमा समेटिएका उम्मेदवारहरूमध्ये एक जनालाई सरकारले पाँच वर्षका लागि गभर्नर नियुक्त गर्नेछ।

गभर्नर पदका लागि हालका डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिना, बमबहादुर मिश्र, तथा राष्ट्र बैंकका कार्यकारी निर्देशकहरू डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठ आकांक्षीको रूपमा रहेका छन्। निजी क्षेत्रका केही बैंकका उच्च पदस्थ अधिकारीहरूको नाम पनि चर्चामा रहेको छ।

सरकारले समयमै गभर्नर नियुक्त नगरे वित्तीय नीति तथा मौद्रिक स्थायित्व प्रभावित हुने विज्ञहरूको भनाइ छ। आगामी दिनमा समितिको सिफारिस, मन्त्रिपरिषद्को निर्णय र नयाँ गभर्नरको नियुक्ति प्रक्रियालाई लिएर चासो बढेको छ।

प्रकाशित : १० चैत्र २०८१, सोमबार २०:३५