एजेन्सी । उत्तर म्यासिडोनियाको कोचानी शहरमा रहेको पल्स नाइट क्लबमा आगलागी हुँदा कम्तीमा ५१ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।
बीबीसीका अनुसार आगलागी हुँदा क्लबमा झण्डै १,५०० मानिस सहभागी रहेको बताइएको छ । क्लबमा स्थानीय पप समूह डीएनकेले कन्सर्ट गरिरहेको थियो । प्रारम्भिक रिपोर्टहरूअनुसार, क्लबमा प्रयोग गरिएका पटाका ९पाइरोटेक्निक डिभाइस० बाट झिल्का उत्पन्न भई, छतमा आगो सल्किएको र त्यसपछि आगलागी तीव्र रूपमा फैलिएको बताइएको छ ।
उत्तर म्यासिडोनियाका गृहमन्त्री पान्चे टोशकोभ्स्कीले मृत्यु र घाइतेहरूको संख्या पुष्टि गर्दै घटनासँग सम्बन्धित एक व्यक्तिलाई पक्राउ गरिएको बताएका छन् । घाइतेहरूको कोचानी, स्टिप र स्कोप्जेका अस्पतालहरूमा गम्भीर जलनको उपचारका लागि भर्ना गरिएको छ ।
प्रधानमन्त्री ह्रिस्टिजन मिकोस्कीले यस घटनालाई गहिरो दुःखद दिनको रूपमा उल्लेख गर्दै पीडित परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।
यस भीषण आगलागीलाई नियन्त्रण गर्न आपत्कालीन सेवाहरू तुरुन्तै परिचालित भएका थिए, जसमा छिमेकी शहरका दमकलकर्मीहरूले पनि सहयोग गरेका थिए । घटनाको वास्तविक कारण पत्ता लगाउन र जिम्मेवार पक्ष पहिचान गर्न अनुसन्धान सुरु गरिएको छ ।
यो घटना पछिल्लो समयकोे सबैभन्दा गम्भीर नाइट क्लब आगलागीमध्ये एक हो, जसले मनोरञ्जन स्थलहरूमा कडा सुरक्षा नियमहरूको आवश्यकतालाई उजागर गरेको छ ।
Comment