लदी पूजाको अवसरमा सार्वजनिक बिदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लदी पूजाको अवसरमा सार्वजनिक बिदा



रौतहट। माझी समुदायले मनाउने कोशी (लदी) पूजाको अवसरमा चन्द्रपुर नगरपालिकाले एक दिन सार्वजनिक बिदा दिएको छ। हरेक वर्ष फागुन तेस्रो मंगलबार माझी समुदायले यो पर्व मनाउने गर्दछन । चन्द्रपुर नगरपालिकाका नगर प्रमुख सन्जय काफ्लेले नगर प्रमुख स्तरीय निर्णय अनुसार सार्वजनिक बिदा दिएको उल्लेख गरेका छन् ।

नगरपालिकाले एक सूचना जारी गर्दै मिति २०८१/११/२० गतेका दिन सार्वजनिक बिदा दिइएको सूचनामा भनिएको छ । उक्त दिन चन्द्रपुर नगरपालिका मातहातका सम्पूर्ण कार्यालयहरुमा सार्वजनिक बिदा दिएको नगर प्रमुख काफ्लेले बताए ।

उनका अनुसार बिदामा वडा कार्यालयहरू, विद्यालय, स्वास्थ्य संस्था तथा संघ संस्थाहरू बन्द रहने छन् । तर सो दिन नगर स्तरीय एसइइको पूर्वतयारी परीक्षा निर्धारित समयमा हुनेगरि सार्वजनिक बिदा दिइएको उनले जानकारी दिए ।

चन्द्रपुरमा रहेका माझी समुदायले पनि कोशी (लदी) पूजा खोला तथा नदी किनारमा मनाउने गर्दछन । विशेषगरि सिमरी खोला तथा नदी किनारमा यो पर्व मनाउने गरिएको समुदायका अगुवा नेता काजीमान माझीले बताए ।

उनका अनुसार माझी भाषामा लदी भन्नाले कोशी भन्ने बुझिन्छ । उनका अनसार लदी पूजाका लागि प्रत्येक घरबाट रकम र चामल संकलन गरी चामललाई महिला माझीहरूले जाँड(मुन) बनाउने गर्दछन् । लदी पूजाका दिन सामुहिक रुपमा नदी किनारमा महादेव, मसान, बज्रको साथै ठूलो कोशीको पूजा गरिन्छ । बज्रको पुजा गर्दा घरमा चट्याङले नहान्ने जनविश्वास रहँदै आएको माझी समुदायका अगुवा बताउँछन् । पूजामा राँगा, बोका, सुँगुर, कुखुरा, अण्डालगायतका फुल अक्षताको प्रयोग हुन्छ ।

लदी पूजाको समयमा बोलचाल नभएका छरछिमेक दाजुभाइबीच पनि अनिवार्य रूपमा बोलचाल गर्नुपर्ने हुन्छ । यस कारण यसलाई मेलमिलापको पर्वको रूपमा पनि माझी समुदायले लिने गरेका छन् ।

प्रकाशित : १८ फाल्गुन २०८१, आईतवार १७:२७