काठमाडौं । चौधरी ग्रुपले केही कार्यक्रम तथा अवार्डहरूले चौधरी ग्रुपको समर्थन रहेको भनी गलत दाबी गरिरहेको विषयमा ध्यान आकर्षित भएको जनाएको छ । बिहीबार चौधरी ग्रुपले आधिकारिक वक्तव्यमार्फत ती गतिविधिहरू वा तिनका आयोजकहरूसँग आफ्नो कुनै सम्बन्ध वा सहकार्य नरहेको स्पष्ट पारेको छ ।
वक्तव्यमा भनिएको छ, ‘केही कार्यक्रम तथा अवार्डहरूले चौधरी ग्रुपको समर्थन रहेको भनी गलत दाबी गरिरहेको विषयमा हाम्रो ध्यान आकर्षित भएको छ । हामी स्पष्ट रूपमा जानकारी गराउन चाहन्छौं कि ती गतिविधिहरू वा तिनका आयोजकहरूसँग हाम्रो कुनै सम्बन्ध वा सहकार्य छैन । हाम्रो नाम, पहिचान र विरासतको कुनै पनि अनधिकृत प्रयोग भ्रामक, अनुपयुक्त र कानुनी रूपमा अस्वीकार्य छ ।
एक जिम्मेवार व्यावसायिक संस्थाका रूपमा हामी सधैं नैतिक मूल्य, व्यावसायिक अभ्यास र पारदर्शिताको पक्षमा छौं । हाम्रो नामको कुनै पनि गलत प्रस्तुतीकरण व्यक्तिगत वा संगठनात्मक लाभका लागि गरिएको भए त्यसको हामी कडा भत्र्सना गर्छाैं । यस्ता दुरुपयोग रोक्न कानुनी प्रक्रिया अगाडि बढाइएको छ र भविष्यमा यस्ता कुनै पनि अनधिकृत दाबीहरूले कानुनी कारबाही भोग्नुपर्नेछ ।
त्यसैगरी, केही मिडिया संस्थाहरूले पित पत्रकारिता प्रदर्शन गर्दै गलत सूचना तथा भ्रामक समाचार फैलाइरहेका घटनाप्रति पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता अनैतिक अभ्यासहरूले आम नागरिकको विश्वास कमजोर बनाउने र जिम्मेवार पत्रकारिताको विश्वसनीयता खल्बल्याउने काम गर्छन् । गलत स्टोरी, विकृत तथ्य र आधारहीन अफवाहहरूको जिम्मेवार समाजमा कुनै स्थान हुन सक्दैन ।
हाम्रो निष्ठा जोगाउन र मर्यादित पत्रकारिता कायम होस् भन्नका लागि हामी यस्ता झुटा प्रचारविरुद्ध कानुनी कारबाही अघि बढाउँदैछौं । चौधरी गु्रप नैतिक व्यवसायप्रति दृढ प्रतिबद्ध छ र यसको प्रतिष्ठामा आँच आउने कुनै पनि गतिविधि कदापि स्वीकार्य हुने छैन ।
हामी नागरिक समाज, सञ्चारकर्मीहरु र सरोकारवालाहरूलाई सत्य, जवाफदेहिता र नैतिक रिपोर्टिङलाई कायम राख्दै गलत सूचना तथा ठगीपूर्ण गतिविधिहरूको विरुद्ध उभिन आग्रह
गर्दछौं ।’
Comment