काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको घर निर्माण गर्ने उदेश्यले चलचित्र ‘अञ्जिला’को बेलायतमा विशेष प्रदर्शन हुने भएको छ ।
निर्माण कम्पनिले चलचित्रको श्रव्यदृश्य (टिजर) सार्वजनिक गर्दै कप्तान सुब्बाकै जीवनीमा आधारित उक्त चलचित्रको आउँदो फागुन ३ गते लन्डनस्थित अल्डरसटमा रहेको एम्पायर चलचित्र भवनमा प्रदर्शनी जानकारी दिएको छ ।
चलचित्रका निर्देशक मिलन चाम्सले चलचित्रमा कप्तान सुब्बाको जीवन सङ्घर्ष र सफलतालाई चलचित्रमा समेटिएको जानकारी दिए । उनले भने,‘कप्तान सुब्बा आफैँले अभिनय गर्नुभएको कारण यो उहाँका शुभचिन्तकका लागि खास छ । विशेष प्रदर्शनीमार्फत उठेका रकमलाई कप्तान सुब्बाकै घर निर्माणमा खर्चिने छौँ । हामी माध्यममात्र बनेका हौँ, सङ्कलित रकम सुब्बाकै मातहतमा सिधै पुग्ने गरेको छ ।’
उनले ‘अञ्जिलाको आफ्नै घर’ अभियान अन्तर्गत मङ्सिरमा हङकङमा विशेष प्रदर्शनी भईसकेको जानकारी दिनुभयो । आउँदो फागुन २९ देखि नेपाल प्रदर्शन तय गरिएको चलचित्र त्यसअघि अन्य केही देशमा पनि विशेष प्रदर्शनी हुने निर्माण पक्षले बताएका छन् ।
कप्तान सुब्बाको धर्म पिताको रुपमा परिचित प्रेमकुमार श्रेष्ठले चलचित्रको निर्माण गरेका हुन् । बेलायत प्रदर्शनीका लागि लन्डन पुगेका निर्माता श्रेष्ठले विशेष प्रदर्शनीबाट सङ्कलित रकममा अपुग आफूले थपेर घर निर्माण गर्ने बताए ।
‘कप्तान सुब्बाका लागि विभिन्न देशहरूबाट देखाउनुभएको हार्दिकता स्वागत योग्य छ । नेपाल अगाडि नै दक्षिण कोरियामा समेत विशेष प्रदर्शनी हुँदैछ, यहाँ बेलायतमा राम्रो तयारी भइरहेको छ । कप्तान सुब्बाका लागि हामीले देखेको सपना छिटै पुरा हुनेमा विश्वत छौँ,’ निर्माता श्रेष्ठले भने ।
नेपालमा खेलकुदमा जीवन समर्पण गरेकाको कथालाई चलचित्रसम्म ल्याउन प्रेरणा दिने भएकाले आफूले कप्तान सुब्बाको जीवनीमा चलचित्र निर्माण गरेको उनले बताए। चलचित्रमा कप्तान सुब्बासँगै सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, मञ्जु श्रेष्ठ, बुद्धि तामाङ लगायतका कलाकारले अभिनय गरेका छन् ।
Comment