अध्यादेशले लगानीकर्ताहरुलाई उत्साहित बनाएको छः अग्रवाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अध्यादेशले लगानीकर्ताहरुलाई उत्साहित बनाएको छः अग्रवाल



काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले सरकारले ल्याएको अध्यादेशले मुलुकका ३० जति कानूनमा औद्योगिक लगानी व्यवसाय सहजीकरण एवं विदेशी विनिमय परिचालनमा रहेका समस्यालाई सम्वोधन गर्ने प्रयास गरेको भन्दै प्रशंसा गरेका छन् ।

चेम्बरको आयोजनामा आज (बिहीबार)बाट राजधानीको भृकुटीमण्डपमा सुरु भएको अन्तर्राष्ट्रिय व्यापार मेलामा सरकारको पहलमा आर्थिक तथा व्यवसायिक वातावरण सुधार एवं सुशासन प्रर्वद्धन गर्ने उद्देश्यले अध्यादेश ल्याइएको भन्दै प्रशंसा गरेका हुन् ।

नेपालको अर्थतन्त्र, उदार, बजारमुखी र प्रतिस्पर्धी बनाउने दिशामा निर्देशित छ भनेर यसले समस्त लगानीकर्ताहरुलाई उत्साहित बनाएको अग्रवालको भनाई छ । उनले अध्यादेशअनुसारको कानून र कार्यविधि एवं नियमावलीको पनि शिघ्र अपेक्षा गरेको बताए ।

अध्यादेशमा उल्लेखित व्यवस्थाअनुसार रकम फिर्ता लैजान चाहने विदेशी लगानीकर्ताको प्रस्ताव सात दिनमै स्वीकृत हुने सहजताले ती लगानीकर्तामाझ सकारात्मक सन्देश जाने देखिन्छ भन्दै अग्रवालले भने, ‘लगानी सम्मेलनका क्रममा विदेशी लगानीकर्ताका लागि हामीले उठाएको इजी इन्ट्री र इजी एक्जिटको विषय सम्वोधन हुन गएको छ । यस्तै सूचना प्रविधि उद्योगले विदेशमा कार्यालय खोल्न र लगानी गर्न सक्ने अध्यादेशमा उल्लेखित प्रावधान आईटी क्षेत्रको विकासका लागि काशेढुङ्गा सावित हुने चेम्बर अफ कमर्सको ठहर छ ।’

प्रकाशित : १७ माघ २०८१, बिहीबार १९:००