काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सफल हुनको लागि हरेक विषयवस्तुको गहिराईमा जान आवश्यक रहेको बताएका छन् ।
सोमबार राष्ट्रिय सहकारी नियमन प्राधिकरणको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले हुने कामलाई नहुने तर्फ ढाल्दिने परस्थिती सिर्जना हुँदा सकारात्मक कामहरु सफल हुन नसकेको बताएका हुन् ।
उनले विषयवस्तुको गहिराईमा गएर सकारात्मक कुराको थालनी गरे मात्र सफल हुन सकिने बताए । उनले भने, ‘हरेक विषयवस्तुको गहिराईमा जाउँ । त्यहाँ सकारात्मक कोणबाट थालनी गरौं । यसो गर्यो भने हामी हरेक कुराहरुमा सफलतामा पुग्न सक्छौं । हाम्रो अहिलेको प्रवृत्ति कस्तो विकास भएको छ भने हल्लै हल्लामा हिड्ने, सत्तामा दौडिने, वास्तविकता के हो नबुझिकन बोल्दिने । हुने कामलाई नहुने तर्फ ढाल्दिने यस्तो परस्थिती सिर्जना भएको छ ।’
यसैगरी उनले अहिलेको आवश्यकता के हो त्यसलाई पहिल्याउनुको साटो तर्किने प्रवृत्तिको विकास भएको बताए । उनले सुधार गर्नुपर्ने कुराहरुमा ध्यान नदिइ हिजो यो थियो भनेर उदाहरण दिएर भाग्ने कोशिष गर्दा हामीहरु सफल हुन नसकेको बताए ।
‘हामीले गर्नुपर्ने के हो ? र त्यसलाई पूरा गर्नको निम्ती हामीले कति त्याग गर्नुपर्छ, कति मेहेनेत गर्नुपर्छ ? उनले भने, अथवा के के कुरामा सुधार गर्नुपर्छ त्यतातिर ध्यान गएको देखिँदैन । हिजो यो थियो भनेर उदाहरण दिएर हामी तर्किने काम गर्छौं ।’
Comment