व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरु अगाडि बढाउनुपर्छ : मन्त्री सिंह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरु अगाडि बढाउनुपर्छ : मन्त्री सिंह



काठमाडौं । उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरु सञ्चालन गर्नुपर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघको चौंथो वार्षिक साधारणसभामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नेपालका उद्योगहरु जसरी सञ्चालन हुनुपर्ने हो हुन नसकेको पनि उपप्रधानमन्त्री सिंहले बताए । ‘नेपालको उद्योग क्षेत्र जुन रुपमा सञ्चालन हुनुपर्ने हो भइरहेको छैन भन्ने तथ्यांकले पनि देखाइरहेको छ । अब स्थापना भइसकेका उद्योगलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने व्यवस्थापनमा आधुनिकिकरण ल्याएर उद्योगहरुलाई अगाडी बढाउनुपर्छ,’ उनले भने ।

त्यस्तै उनले शिक्षा नीतिमा पनि मन्थन गरेर समयको माग बमोजिम संशोधन गर्नुपर्ने धारणा राखे। शैक्षिक बेरोजगारको साख्या बढिरहेकोमा अहिले चिन्ता व्यक्त भइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले अब शैक्षिक प्रमाणपत्रसँगै सिपको सर्टिफिकेट दिने काममा लाग्नुपर्नेमा जोड दिए । त्यस्तै, उनले अहिले देशमा युवाहरु बस्न चाहँदैनन् भनेर गलत भाष्य स्थापीत गर्ने काम भइरहेको बताए ।

‘अहिले देशमा कोही युवाहरु बस्नै चाहँदैनन् भनेर एउटा भाष्य बनाइएको छ । बस्नै नचाहने भनेर भाष्य मात्र विकसित गर्नेहरुको काम त सकियो,’ उपप्रधानमन्त्री सिंहले भने,‘तर, समस्या समाधानका लागि सबैले जिम्मेवार भएर काम गर्नसक्नुपर्छ । यहाँ कस्तो छ भन्दा अधिकारको कुरा ठुलठुलो स्वरमा उठाउने अनि जिम्मेवारीको कुरा आउँदा सबै पछि पछि हट्ने । अनि कहाँ बाट समाज अगाडी बढ्छ ?’ उनले अधिकारसँगै सबैले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित : २६ पुष २०८१, शुक्रबार १९:२६