हानले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हानले माघ २ गते ‘नेपाल सत्कार दिवस’ मनाउने



काठमाडौं । होटल संघ नेपाल (हान) ले आगामी माघ २ गते ‘नेपाल सत्कार दिवस २०२५’ मनाउने भएको छ । हानले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो दिवस मनाउनेबारे जानकारी गराएको हो ।

संघले आफ्नो स्थापना दिवसको अवसर पारेर प्रत्येक वर्ष माघ २ गते सत्कार दिवस आयोजना गर्दै आएको छ । यसअघि पनि संघले राष्ट्रपतिको प्रमुख आतिथ्यतामा पहिलो सत्कार दिवस २०२४ आयोजना भइसकेको छ ।

होटल संघका अध्यक्ष विनायक शाहका अनुसार सत्कार दिवस होटल क्षेत्रले वर्षैभरि भोगेका अवस्था र विकासका सम्भावना, चुनौती तथा आगामी दिनमा के कसरी अगाडि बढ्न सकिन्छ भन्ने बारेका विषय प्रस्तुति रहनेछन् ।

यो वर्ष आयोजना हुन लागेको सत्कार दिवसमा होटल तथा पर्यटन क्षेत्रको स्थितिलाई उजागर गर्ने उद्देश्यले संघले प्रकाशनमा ल्याएको नेपाल होटल इयर बुक २०२४ विमोचन हुने कार्यक्रम रहेको छ ।

साथै सोही अवसरमा मुलुकलाई विश्वमाझ रैथाने खाना प्रवर्द्धन गर्दै विदेशी पर्यटकलाई नेपाल आगमनमा लालायित बनाउन सातै प्रदेशका मुख्य मुख्य रैथाने खाना प्रदर्शनमा राखी सोही खाना कार्यक्रममा सहभागी हुने पाहुनालाई सत्कारस्वरूप प्रस्तुत गरिने पनि संघका अध्यक्ष शाहले जनाएका छन् ।

उक्त अवसरमा विभिन्न विधाका प्रायोजकद्वारा प्रवर्द्धनमा राखिएका प्रदर्शनी कक्ष मुख्य आकर्षण रहने अध्यक्ष शाहले बताए ।

साथै कार्यक्रममा पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याउने व्यक्तित्वलाई पुरस्कृत गरिने जनाइएको छ । उक्त कार्यक्रममा प्रायोजन गरी सहयोग गर्ने प्रायोजकहरूलाई समेत सम्मान गरिने कार्यक्रम रहेको पनि संघले जनाएको छ ।

देशैभरिबाट सहभागी रहने होटल संघ नेपालको वार्षिक साधारणसभा पनि सोही दिन आयोजना हुने संघले उल्लेख गरेको छ ।

उक्त दिन पर्यटन क्षेत्रमा भएका ऐन, कानुनलाई संशोधन गरेर धेरैभन्दा धेरै पर्यटकलाई भित्र्याउने उद्देश्यले सत्कार दिवस मनाउन लागेको संघका महासचिव साजन शाक्यले बताए ।

शाक्यका अनुसार पर्यटन क्षेत्रले मात्रै देशको आर्थिक क्षेत्रमा टेवा पुग्ने भएकाले यस क्षेत्रलाई उत्थान गर्नका लागि सबैले आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने जनाए ।

अहिले होटलहरुले ३५ लाख पर्यटकलाई सेवा दिन सक्ने क्षमता भइसकेको हुँदा त्यसअनुसार पर्यटक भित्र्याउन सके नेपालबाट विदेश पलायन हुने जनशक्तिलाई रोक्न सक्ने शाक्यले बताए ।

प्रकाशित : २२ पुष २०८१, सोमबार १८:५१