अनुगमन टोली देखेर सटर बन्द गर्ने ‘त्रासयुक्त’ होइन, अनुगमन गर्न आइदिनोस् भन्ने ‘मैत्री’ संयन्त्र बनाउँछौँ : उपप्रमुख डंगोल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

अनुगमन टोली देखेर सटर बन्द गर्ने ‘त्रासयुक्त’ होइन, अनुगमन गर्न आइदिनोस् भन्ने ‘मैत्री’ संयन्त्र बनाउँछौँ : उपप्रमुख डंगोल



काठमाडौँ । बजारमा अनुगमन टोली आएको खवर सुनेर सटर बन्द गर्ने अवस्थालाई रुपान्तरण गरेर मेरो व्यवसायको अनुगमन गरिदिनोस्, मेरो व्यवसायको स्तर निर्धारण गरिदिनोस् भन्ने संयन्त्रका लागि काम गरिरहेको काठमाडौँ महानगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक सुनिता डंगोलले बताएकी छन् ।

आज दरबार हाइस्कूलमा होटल, क्याटरिङ् र व्याङ्क्वेट सेवाका व्यवसायीका लागि आयोजना गरिएको क्षमता विकास कार्यक्रममा सहभागीहरुसँग अन्तरक्रिया गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

खाद्य सेवाको स्तरलाई प्रमाणीकरण गर्ने योजनाका विषयमा कुरा गर्दै उनले भनिन्, ‘मापदण्ड पूरा गरेकालाई प्रमाणीकरण गर्ने योजनामा छौँ । जसको प्रमाणीकरण हुन्छ त्यहाँ व्यापार वृद्धि हुन्छ । जसको प्रमाणीकरण हुृँदैन, त्यहाँ व्यापार पनि हुँदैन । स्तर कायम गराउन व्यवसायीका बिचमा स्वच्छ र सकारात्मक प्रतिस्पर्धा गराउने हाम्रो योजना हो ।’

उनले थप्दै भनिन्, ‘प्रमाणीकरण हुनुअघि सबैलाई मापदण्डबमोजिम सञ्चालन गर्ने अवसर प्रदान गर्नेछौँ । स्तर कायम गराउन क्षमता अभिवृद्धि गराउनेछौँ । यसपछि टोली अनुगमनमा आयो भनेर चिन्तित हुनुपर्दैन बरु मेरोमा अनुगमन गर्न आउन भ्याएको छैन, कहिले स्तरीकरण र प्रमाणीकरण गर्ने होला भनेर चिन्ता गर्नु पर्ने हुन्छ ।’

अनुगमन प्रणालीका विषयमा कुरा गर्दै उनले भनिन्, ‘दण्ड जरिवानाका लागि अनुगमन होइन । अनुगमनले स्वच्छता, गुणस्तरीयता र मूल्यसहित प्रचलित पेशागत मर्यादाका पक्ष हेरेर उपभोक्ताको हक सुनिश्चित गर्ने हो । यी विधि र प्रक्रिया पालना नगर्दा मात्र जरिवाना हुन्छ । विधि पालना गर्नेहरुको क्षमता विकासमा अनुगमनले सहयोग गर्दै आएको छ ।’

उनीसँग अन्तरक्रिया गर्दै व्यवसायीहरुले तालिमले व्यवसायको स्वच्छताका लागि नयाँ सिप विकास भएको, उपभोक्ता र नियामक निकायप्रति थप जिम्मेवार भएको धारणा सुनाए । हामीलाई पेशा वृद्धि हुनेमा आत्मविश्वास बढेको छ । यसमा हामी पेशाकर्मीका दायित्वप्रति प्रतिवद्धता गर्न चाहन्छौँ । उनीहरुको भनाइ थियो । यस तालिममा ३६६ जनाको सहभागिता थियो ।

प्रकाशित : १६ पुष २०८१, मंगलवार ११:४७