काठमाडौ । ड्रिम अन एजुकेशनल कन्सल्टेन्सीले अञ्जना राना मगरलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको छ ।
सोमबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ड्रिम अनले राष्ट्रिय महिला फुटबल टिमकी एक सशक्त खेलाडी तथा गोलरक्षक मगरलाई आगामी एक वर्षका लागी ब्राण्ड एम्बासडरमा नियुक्त गरेको हो ।
उक्त कार्यक्रममा ड्रिम अनका प्रबन्ध निर्देशक भिम बहादुर थापा र मगरले ब्राण्ड एम्बासडर नियुक्तसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर समेत गरेका छन् ।
हस्ताक्षर कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघ (इक्यान)का केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, इक्यान पूर्व अध्यक्ष एवं एनडेकाका अध्यक्ष दिपक गुरुङ, आइसा (इन्सुरेन्स) प्रतिनिधि सिपा रेग्मी सहित शैक्षिक परामर्श व्यवसायी र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।
खेलाडी सँग हुने यस्ता सम्झौताले व्यवसायीक फाइदा पुग्नुका साथै नेपालको खेल जगत र खेलाडीलाई प्रोत्साहन पुग्ने एनडेकाका अध्यक्ष गुरुङले बताए । ‘जीवनभर खेलकुद क्षेत्रमा लागिएको छ, राज्यले खेलकुद क्षेत्रलाई महत्त्व दिन सकेको छैन, तर कन्सल्टेन्सीहरुबाट खेल क्षेत्र र खेलाडीहरुलाई प्रोत्साहन गर्ने काम भइरहेको छ, आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुले निरन्तरता पाउनेमा आशावादी छु,’ गुरुङले भने । उनले ड्रिम अन र खेलाडीबीच भएको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्नेमा आफु विश्वस्त रहेको बताए ।
त्यस्तै इक्यानका अध्यक्ष भट्टराईले ड्रिम अनले खेलाडीलाई प्रोत्साहन गर्ने र शैक्षिक परामर्श व्यवसायलाई पनि आम नेपाली माझ पुर्याउन महिला फुटबलकी गोलरक्षक मगरलाई एम्बासडर नियुक्त गरेकोप्रति खुशी व्यक्त गरे । उनले पछिल्लो समय खेल क्षेत्रलाई परामर्श व्यवसायीहरुले प्रोत्साहन गरेको भन्दै आफू इक्यान अध्यक्ष भएपछि ७ जना क्रिकेट खेलाडीलाई कन्सन्लटेन्सीहरुले ब्राण्ड एम्बासडर बनाएको स्मरण गरे । ‘महिला फुटबलमा अञ्जना र परामर्श क्षेत्रमा ड्रिम अनको उत्कृष्ट योगदान छ, दुबै उत्कृष्टहको योगदान र सहकार्यले अझै उत्कृष्ट परिणाम दिन्छ भन्ने बिस्वास लागेको छ,’ अध्यक्ष भट्टराइले भने । मगरलाई राम्रा तथा सामाजिक कार्यका लागि इक्यान सदस्यहरुबाट सँधै प्रोत्साहन हुने भन्दै शैक्षिक परामर्श क्षेत्रबाट हुने योगदानलाई जनमानसमा पुर्याइदिन उनले आग्रह गरे ।
कार्यक्रममा ब्राण्ड एम्बासडर मगरले आफु खेलाडी भएका कारण धेरै बोल्न नजान्ने भन्दै ड्रिम अनको व्यावसायिक प्रस्तुतीबाट प्रभावित भएको र सँगै रहेर सहकार्य गर्न पाउँदा खुशी लागेको बताइन् । उनले खेलप्रेमी समर्थकहरुको हौसलाले आफू आजको स्थानसम्म पुगेको भन्दै ड्रिम अनसँगको सहकार्यले अझै जिम्मेवारी बढेको बताइन् ।
यसैगरी खेलाडीहरुको मनोबल बढाउन र खेल जगतमा सम्भावनाहरु छन् भन्ने देखाउने उदेश्यले अज्जना राना मगरलाई ब्राण्ड एम्बासडर नियुक्त गरिएको ड्रिम अनका प्रबन्ध निर्देशक थापाले बताए । एउटा सशक्त खेलाडी, महिला फुटबलकी गोल रक्षकलाई ब्राण्ड एम्बासडर बनाउन पाउनु खुशीको कुरा हो,’ थापाले भने, ‘यसले ड्रिम अनलाई मात्र नभएर नेपालको खेल जगत र शैक्षिक परामर्श क्षेत्रको उत्थानका लागि पनि काम गर्न भन्ने विश्वास लिएको छु ।’
काठमाडौंको डिल्लीबजारमा केन्द्रीय कार्यालय रहेको ड्रिम अनले अस्ट्रेलिया, क्यानडा, अमेरिका, बेलायत तथा अन्य विभिन्न अन्तर्राष्ट्रिय गन्तव्यहरूमा अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श दिँदै आएको छ ।
Comment