काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिकाले शुक्रबारबाट सुरु गरेको ‘मध्यपुर महोत्सव’ आइतबार सम्पन्न भएको छ । महोत्सवबाट अपेक्षा गरेभन्दा बढी आम्दानी भएको बताइएको छ ।
मध्यपुर नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले मध्यपुरलाई पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउने उद्देश्यले ‘मध्यपुर महोत्सव’ आइतबार महोत्सव सम्पन्न गरिएको बताएका छन् ।
‘मध्यपुरलाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराउनका लागि २५ वर्षपछि गरिएको यो महोत्सव आइतबार सम्पन्न गर्यौं । महोत्सवमा नगरका स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन भएको छ,’ उनले भने, ‘१०५ ठाउँमा घरेलु उत्पादनका सामानहरु राखिएको थियो ।’
प्रमुख श्रेष्ठका अनुसार सोचे भन्दा बढी आम्दानी भएको छ । उनले भने,‘महोत्सवभरलाई तयार गरिएको परिकार महोत्सवको दोस्रो दिन नै सकिएको खबर पाएका थियौं । सबै तथ्यांक आइसकेको छैन तर औसतमा महोत्सवको दोस्रो दिन दुई करोड बढीको ब्यापार भएको छ ।’
मेयर श्रेष्ठका अनुसार महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ रहेको छ । उनले भने,‘महोत्सवको अनुमानित लागत दुई करोड तीन लाख रुपैयाँ हो । त्यसमा पालिकाले ६० लाख रुपैयाँ विनियोजन गरेको छ । प्रचारप्रसारका लागि नेपाल पर्यटन बार्डले सात लाख रुपैयाँ दिएको छ । भने, अरु सबै रकम स्थानीय विद्यालय, सहकारीलगायतको प्रायोजन हो ।’
योमरी, बारा, चटामरी, नेवारी खाजालगायत स्थानीय परिकारका राखिएका स्टलमा अवलोकनकर्ताको बढी भीड लागेको थियो । महोत्सवमा आकर्षण अैँला, छ्याङका साथै नेवारी परिकारका खानाका स्टलमा बढी देखिएको थियो ।
महोत्सव अवधिभर नगरको ऐतिहासिक कला, संस्कृति, जात्रा, पर्व र सम्पदाको प्रदर्शन, स्थानीय मौलिक खाना, पेसा र उत्पादनको प्रवद्र्धन गर्दै मध्यपुरलाई स्वदेशी तथा विदेशी पर्यटकको गन्तव्यका रूपमा परिचित गराइएको थियो ।
Comment