मुआन विमान दुर्घटना: १२४ जनाको मृत्यु, दुई बच्न सफल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

मुआन विमान दुर्घटना: १२४ जनाको मृत्यु, दुई बच्न सफल



एजेन्सी । दक्षिण कोरियाको दक्षिणपश्चिमी मुआन जिल्लामा रहेको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२४ जनाको मृत्यु भएको छ भने दुई जना बच्न सफल भएका छन् ।

दुर्घटनाग्रस्त विमानमा चालक दलका दुई सदस्य मात्र बाँच्न सफल भएका हुन । विमानमा १८१ जना सवार रहेकोमा ६ जना चालक दलका सदस्यसमेत थिए । उद्धार कार्य जारी छ । दुर्घटनामा बाँचेकालाई उपचारका लागि अस्पताल पु¥याइएको छ । विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर विमानस्थलको पर्खालमा ठोक्किएर दुर्घटना बिहान ९ः०७ बजे भएको हो ।

दुर्घटनामा परेको बोइङ ७३७/८०० विमान बैंककबाट राति १ः३० बजे प्रस्थान गरेको थियो र बिहान ८ः३० बजे मुआन पुग्नुपर्ने थियो ।

दक्षिण कोरियाका स्थानीय टेलिभिजनहरूले देखाएका भिडियोहरूमा विमान अवतरणका क्रममा यसको ल्यान्डिङ गियर नखुलेको देखिन्छ । विमान धावनमार्गमा चिप्लिएर ठोस पर्खालमा ठोक्किएको थियो । ठोक्किएपछि आगो लागेर विस्फोट भएको देखिन्छ ।

अधिकारीहरूले दुर्घटनाको कारण ल्यान्डिङ गियर बिग्रिनु, सम्भवतः चरा ठोक्किनु हुनसक्ने अनुमान गरेका छन् । घटनाको विस्तृत अनुसन्धान गर्न टोली खटाइएको छ । दक्षिण जोल्ला प्रान्तका अधिकारीहरूले उच्च आपतकालीन सतर्कता जारी गर्दै सबै उपलब्ध उद्धारकर्मी र प्रहरीलाई घटनास्थलमा परिचालन गरेका छन् । कार्यवाहक राष्ट्रपति चोई सङ–मोकले मुआनलाई विशेष विपद् क्षेत्र घोषणा गरेका छन् । उनले घटनास्थलमा पुगेर खोजी कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन । प्रहरी, उद्धार टोली र अन्य सम्बन्धित निकायहरूबीच समन्वय गर्न राष्ट्रपतिको कार्यालयले आपतकालीन बैठक बोलाएको थियो ।

जेजु एयरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किम ई–बाएले दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन् । ‘कारण जेसुकै होस्, यो घटनाको पूर्ण जिम्मेवारी म लिन्छु,’ किमले भने ।

प्रकाशित : १४ पुष २०८१, आईतवार १३:५७