फेवातालमा ढल नफाल्न पर्यटन व्यवसायीहरूलाई आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

फेवातालमा ढल नफाल्न पर्यटन व्यवसायीहरूलाई आग्रह



पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पर्यटन व्यवसायीहरूलाई फेवातालमा ढल नफाल्न आग्रह गरेका छन् । शनिबार दिउँसो पोखराको लेकसाइडमा आयोजित २६ औं सडक महोत्सव उद्घाटन गर्दै उनले पटक पटक फेवातालमा ढल नफाल्न पत्र लेखे पनि १९ जना व्यवसायीहरुले टेर्ने नगरेको बताएका हुन् ।

उनले पर्यटन व्यवसायीहरुप्रति लक्षित गर्दै भने, ‘महानगरले पटक पटक फेवातालमा ढल नफाल्न पत्र लेख्छ । तर १९ जना व्यवसायीहरुले टेर्दै टेर्नुहुन्न । २४ घण्टाभित्र खुरुक्क फेवातालमा ढल फाल्न रोक्नुहोस् न । किन रोक्नु हुन्न रु’

उनले अन्यथा महानगरले त्यस्ता संस्था वा व्यक्तिहरुलाई कानून अनुसार कारबाही गरेर छाड्ने चेतावनी दिए ।

उनले पोखरालाई पर्यटनको राजधानी घोषणा गराउन आफूलाई १८ महिना लागेको बताए । पर्यटनको राजधानी घोषणा गरेर मात्र के हुन्छ भन्नेहरुप्रति इंगित गर्दै उनले अघि भने ‘पर्यटनको राजधानी घोषणा गरेर मात्र केही हुन्न भन्ने होइन । धेरै हुन्छ । सरकारले वातावरण बनाइ दिने हो । व्यवसायीहरुलाई ल्याएर चम्चाले मुखमा खुवाइदिने हैन ।’

महानगरले पोखराको बसुन्धरा पार्कमा बिग्रिएको जहाजको बडी राखेर निजी क्षेत्रलाई रेस्टुरेन्ट चलाउन दिने र पोखराको पहिचानको रुपमा रहेको सारंगीको ठूलो प्रतिमा राख्न खोजिरहेको तर स्थानीय जनताले विरोध गरिरहेका बताए । त्यसतर्फ संकेत गर्दै मेयर आचार्यले पोखराका सार्वजनिक जग्गा सरकारका सम्पत्ति भएको र त्यसको संरक्षण गर्ने बताए ।

सन् २०२५ लाई पोखरा भ्रमण वर्ष मनाउन लगिएको जानकारी दिँदै मेयर आचार्यले विगतमा पर्यटन क्षेत्रलाई जम्मा ४–५ लाख रुपैयाँ बजेट विनियोजन हुने गरेकोमा आफू आएपछि पहिलो वर्ष ५५ करोड र दोश्रो वर्ष ८५ करोड छुट्याइएको दाबी गरे।

सिंगो पर्यटन क्षेत्रको विकासका लागि महानगरले काम गरिरहेको दाबी गर्दै मेयर आचार्यले पर्यटन क्षेत्रमा केही भएन भनेर खाली विरोध गर्ने काम नगर्न सबैलाई अनुरोध गरे ।

प्रकाशित : १४ पुष २०८१, आईतवार १२:१५