नेपाल एसबीआई बैंकले प्रस्तावित लाभांश पुस २१ गते पारित गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपाल एसबीआई बैंकले प्रस्तावित लाभांश पुस २१ गते पारित गर्ने



काठमाडौं । नेपाल एसबीआई बैंक लिमिटेडले पुस २१ गते ३१औं वार्षिक साधारण सभा बोलाएको छ । मंसिर १८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष २०८०र८१ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय पनि टुङ्ग्याउनेछ । यस वर्ष कम्पनीले गत वर्षको मुनाफबाट हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ८० प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि ६ दशमलव ८५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत गरेको छ ।

सभाले गत वर्ष सामाजिक उत्तरदायित्व शिर्षकमा खर्च गरेको ८८ लाख ८७ हजार रुपैयाँलाई समेत अनुमोदन गर्नेछ । अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमा जाने संकेत पनि कम्पनीले गरेको छ । त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले पुस ७ गते एक दिन बुक क्लोज गर्न लागेको छ । बुक क्लोजको आधारमा पुस ४ गते बिहीवारसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : १ पुष २०८१, सोमबार १२:२३