काठमाडौं । नेपाल उद्योग परिसंघको वरिष्ठ उपाध्यक्षमा वीरेन्द्रराज पाण्डे चयन भएका छन् । नेपाल उद्योग परिसंघको आइतबार बसेको गभर्निङ काउन्सिल समितिले परिसंघको विधानअनुरुप पाण्डेलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो ।
परिसंघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नयाँ कार्यकालका लागि स्वतः अध्यक्ष हुने व्यवस्था अनुसार आगामी वार्षिक साधारण सभापछि पाण्डे स्वतः परिसंघको अध्यक्ष बन्नेछन् ।
२०७२ सालदेखि परिसंघको राष्ट्रिय परिषद् सदस्यसँगै विभिन्न समितिमा रहेर काम गरिसकेका पाण्डे २०७५ देखि परिसंघको उपाध्यक्ष रहेका छन् ।
काठमाडौंमा जन्मिएका पाण्डे तीन दशकदेखि निरन्तर निर्माण उद्योगमा छन् । सिभिल इन्जिनियरिङ, आवास र शहरी विकास, सडक तथा पुल, जलस्रोत व्यवस्थापन, संरचनात्मक प्रबलीकरणमा दख्खल राख्ने पाण्डे नेपाल आदर्श निर्माण कम्पनीका कार्यकारी निर्देशक छन् ।
उनी हरित सामाग्री निर्माण, कृषि तथा शिक्षा क्षेत्रमा समेत सक्रिय हुन् । पाण्डेको लामो अनुभव तथा विज्ञताले परिसंघलाई थप गतिशिल बनाउँदै देशको अर्थतन्त्र सुधारका लागि नीतिगत रुपमा उहाँले महत्वपूर्ण भूमिका खेल्ने परिसंघको रहेको विज्ञप्तिमा उल्लेख छ ।
Comment