सिटिजन लाइफको व्यापारमा २६.३८ प्रतिशतको वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिटिजन लाइफको व्यापारमा २६.३८ प्रतिशतको वृद्धि



काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको व्यवसायमा उल्लेख्य रुपमा बढेको देखिएको छ । चालु आर्थिक वर्षको भदौं मसान्तसम्म कम्पनीले सवा एक अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार यस अवधिमा कम्पनीले ११ लाख ४० हजार ७१७ बीमालेख बिक्री गरी एक अर्ब २७ करोड ७८ लाख २५ हजार रुपैयाँ बराबरको व्यवसाय गरेको छ ।

उक्त रकम गत वर्षको सोही अवधिको तुलनामा २६.३८ प्रतिशतले बढी हो । कम्पनीले गत आवको भदौ मसान्तसम्म १३ लाख १७ हजार ६७० बीमालेख बिक्री गरी एक अर्ब १ करोड १२० लाख ८२ हजार रुपैयाँ बराबरको बीमा व्यवसाय गरेको थियो ।

बजारमा देखिएको आर्थिक मन्दीका कारण समग्र क्षेत्रमा असर परेको छ । आर्थिक गतिविधि सुस्त छन् भने मागमा संकुचन आएको छ । अर्थतन्त्र चलायमान हुन नसक्दा त्यसको समग्र असर वित्तीय प्रणालीमा परेको छ ।

तर, आर्थिक मन्दीका बाबजुद पनि जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार उल्लेख्य वृद्धि भएको पाईएको छ । प्राधिकरणको तथ्यांक हेर्ने हो भने एक वर्षमा कम्पनीहरुको व्यवसाय करिब ९६ करोड रुपैयाँले बढेको देखिएको छ ।

गत आवको तुलनामा कम्पनीहरुले चालु आवको भदौं मसान्तसम्म ९५ करोड ८४ लाख रुपैयाँ अर्थात ३.२९ प्रतिशतले व्यवसाय बढाएका हुन् । भदौं मसान्तसम्म बीमा कम्पनीहरुले एक करोड ३४ लाख १२ हजार १३३ बीमालेख बिक्री गरी ३० अर्ब ८ करोड ८२ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् ।

गत आवको सोही बीमा कम्पनीहरुले एक करोड ३४ लाख ५१ हजार ८२२ बीमालेख बिक्री गरी २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ बराबरको व्यापार गरेका थिए ।

प्रकाशित : १५ आश्विन २०८१, मंगलवार १३:०४