हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हज यात्राबाट बचेको रकम फिर्ता गर्दै हज समिति

आगामी वर्षको यात्राका लागि निवेदन आह्वान



काठमाडौं । नेपाल हज समितिको सचिवालयले हज यात्राबाट बाँकी रहेको रकम सबै यात्रुहरुलाई फिर्ता गर्ने भएको छ। रकम फिर्ता गर्नका लागि समिति सचिवालयले सुचना जारी गरेको छ। समितिले यसपटक प्रति व्यक्ति २३ हजार ४०० रुपैयाँ फिर्ता गर्ने भएको छ।

समिति सचिवालयले प्रेस सम्मेलनका आयोजना गरी भर्खरै सम्पन्न भएको हज यात्रा सुखद र सफल भएको बताएको छ। ‘यो वर्ष हामीले हज यात्रीलाई मक्का नजिक राख्न सफल भयौँ। खानाको मेनुमा पनि धेरै परिवर्तन ल्यायौँ। बसाई अवधिमा यात्रुलाई कुनै पनि कठिनाई हुन नदिनका लागि साउदी सरकार, साउदीस्थित नेपाली दुतावाससँग सहकार्य गर्यौँ,’ उनले भने।

हजमा विभिन्न मुलकका मानिसहरुको सहभागिता हुन्छ। धेरै भिड हुने भएकाले खान, बस्न र स्वास्थ्यसम्बन्धी समस्या हुँदा व्यवस्थापन गर्न कठिन हुन्छ। तर, यसपटक सचिवालयले सबै व्यवस्थापन चुस्त राख्न सफल भएको उनले बताए।

समितिले प्रतिव्यक्ति चार लाख १५ हजार रुपैयाँ संकलन गरेको थियो। तर, अनुमान गरे भन्दा खर्च कम भए पछि कमिटीले रकम फिर्ता गर्न लागेको उनले बताए। ‘रकम फिर्ता गर्नका लागि हामीले खाता नम्बर टिपाउन सुचना जारी गरेका छौँ। नम्बर प्राप्त भएपछि हामी अनलाईन नै भुक्तानी गरिदिन्छौँ,’ उनले भने ।

नेपालबाट हज यात्रामा जान थालेको ६१ वर्ष भयो। यो वर्षको हज यात्राको लागि नेपालले १२०० कोटा पाएको थियो। तर, जम्मा ७६४ जना मात्रै हज यात्रामा सहभागी भएका समितिका अध्यक्ष इश्रा मूल्ला मियाँले बताए। आर्थिक मन्दीका कारण यो पटक हज यात्रामा कम व्यक्ति सहभागी भएका उनले बताए। हज यात्रामा दुई जना चिकित्सकको पनि सहभागीता थियो।

आगामी वर्षको यात्राका लागि निवेदन आह्वान

हज समितिले आगामी वर्षको हज यात्राको लागि आवेदन मागसमेत गरेको छ। आगामी वर्षको लागि पनि नेपालले १२०० कोटा प्राप्त गरेको हज कमिटिका सदस्य सचिव झन्कनाथ ढकालले बताए।

उनका अनुसार साउदी अरबले सम्बन्धित मुलुकमा रहेका मुश्लिम समुदायको संख्याको आधारमा कोटा तोक्दै आएको छ। प्राप्त निवेदनको आधारमा हज यात्रामा जानेको सूची सार्वजनिक गरिने उनले बताए।

आगामी वर्षको हज यात्राको अवधि छोट्याउने कमिटिको योजना रहेको उनले बताए। सामान्यता ४२ देखि ४४ दिनसम्म हज यात्राको अवधि हुन्छ। तर, ३२ दिनमा पनि यसलाई छोट्याउन सकिने पाइएपछि छोट्याउन खोजेको उनले बताए।

प्रकाशित : २८ भाद्र २०८१, शुक्रबार १८:५६