काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले हवाई यात्रुहरूको बिदाईमा खादा तथा माला नल्याउन आग्रह गरेको छ । यात्रुले विमानस्थलस्थित आन्तरिक तथा वाह्य टर्मिनल भवन प्रवेश गर्दा बिदाई स्वरूप साथमा लगाई आउने वा ब्यागमा झुन्ड्याई बाँधी ल्याइने खादाकै कारण विमानस्थलको सुरक्षा उपकरणमा गम्भीर क्षति पुगेको भन्दै ती सामग्री निषेध गरेको हो ।
कार्यालयले एक सूचना जारी गर्दै खादा तथा मालाले सुरक्षा जाँचको क्रममा विमानस्थलको सुरक्षा उपकरणहरु (एक्स-रेहरू), कन्भेयर बेल्ट तथा स्केलेटरहरूमा अड्किई उपकरणलाई गम्भीर क्षति पुर्याइरहेको साथै यात्रुहरूले खादा र मालाहरू विमानस्थलका विभिन्न क्षेत्रमा छाडी जाने समेत गर्नाले यसबाट विमानस्थलको सौन्दर्यतामा समेत नकारात्मक असर पुग्ने गरेको जनाएकाे छ ।
कार्यालयले टर्मिनल भवन प्रवेश दौरान सुरक्षा जाँचका समयावधिभर खादा र माला प्रयोग नगर्न पनि कार्यालयले आग्रह गरेको छ। हवाई यात्रुले खादा वा माला सँगै लानुपर्ने भएमा आफ्नो ब्यागभित्र नदेखिने गरी मात्र लगिदिन कार्यालयले आग्रह गरेको छ।
विमानस्थलस्थित आन्तरिक तथा अन्तर्राष्ट्रिय टर्मिनल भवन प्रवेश गर्दा हवाई यात्रुलाई परिवारका सदस्य वा साथीभाइले बिदाइस्वरुप खादा वा माला लगाइदिने गरेका छन्।
Comment