तडकभडक र खर्चिलो तीज मनाउँदा समाजमा राम्रो सन्देश जाँदैन, संस्कृति जोगिदैन : मन्त्री काफ्ले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

तडकभडक र खर्चिलो तीज मनाउँदा समाजमा राम्रो सन्देश जाँदैन, संस्कृति जोगिदैन : मन्त्री काफ्ले



हेटौंडा । बागमती प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले तीज नमनाउन मन्त्रालयका महिला कर्मचारीहरुलाई आग्रह गरेका छन् ।

हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसरमा महिला कर्मचारीहरुलाई लक्षित गर्दै मन्त्रालयले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा मन्त्री काफ्लेले अनुशासित ढंगले पर्व मनाउन आग्रह गरेका हुन् ।

‘विगतको तुलनामा हालका वर्षहरुमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यक्रम बढ्दै गएको देखिएको छ’, मन्त्री काफ्लेले भने, ‘हाम्रो परम्परा जोगाउने हामीले नै हो । त्यसैले अर्थ मन्त्रालयको कर्मचारीले देशमा देखिएको आर्थिक संकटलाई मध्यनजर गर्दै अनुशासित र तडकभडक बिना तीज मनाउँदा सर्वसाधारणमा राम्रो सन्देश जान्छ ।’

कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्ण मैनाली, उपसचिव मौसम ढुंगेल, मन्त्रीका निजी सचिव अनुप अधिकारीलगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

त्यस्तै अर्को कार्यक्रममा मन्त्री काफ्लेले तडकभडक तथा खर्चिलो तरिकाले भन्दापनि संस्कृति र परम्परा जोगाउने भावका साथ तीज मनाउन आग्रह गरे ।

चाडपर्व मनाउने क्रममा बढ्दो अनावश्यक तडकभडकसहितका खर्चिला कार्यक्रमले त्यसको मौलिकता लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै काफ्लेले मौलिक पहिचान जोगाउँदै चाडपर्व मनाउँदा भावी पुस्ताप्रति न्याय हुने बताए ।

रेडियो मकवानपुरले फरक क्षेत्रमा चुपचाप काम गरिरहेका महिलालाई सम्मान गर्ने कार्यक्रमको प्रमुख आथित्यता ग्रहण गरेका मन्त्री काफ्लेले रेडियोको प्रसंशा गरे । रेडियोले हरितालिका तीजको अवसरमा डकर्मी र खेलकर्मी गरी दुई महिलालाई सामुदायिक सम्मान प्रदान गरेको हो ।

सम्मानित हुनेमा हेटौंडा ५ की खेलकर्मी सरेशा ढुङ्गाना र हेटौंडा १९ बस्तीपुरकी डकर्मी गौरिमाया सिन्तान रहेकी छन् । ढुङ्गाना तीन दशकदेखि तेक्वान्दो खेल र सिन्तान १२ वर्षदेखि डकर्मी पेशामा आबद्ध रहेकी छन् । ढुङ्गाना मकवानपुरबाट तेक्वान्दो खेलको पहिलो महिला मेडलिष्ट हुन् । सिन्तान भने आर्थिक अवस्था कमजोर भएपछि घर बनाउने काममा लागेर महिला मिस्त्रीका रुपमा परिचित रहेकी छन् । दुवैजनालाई रेडियोले जनही नगद १० हजारसहित सम्मानपत्र प्रदान गरेको हो ।

उनीहरुलाई प्रमुख अतिथी काफ्ले, प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ र रेडियोका अध्यक्ष आनन्दराम पराजुलीले नगद, प्रमाणपत्र र दोसल्ला प्रदान गरेका हुन् । विगत १४ वर्षदेखि प्रत्येक वर्ष सामाजिक क्षेत्रमा उल्लेख्य काम गर्ने महिलाहरुलाई सम्मानित गर्दै आइरहेको रेडियोले हालसम्म २८ जनालाई सम्मानित गरिसकेको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।

कार्यक्रममा रेडियोका सञ्चालक समिति अध्यक्ष आनन्दराम पराजुलीले समाजमा उत्कृष्ट कार्य गर्ने व्यक्तित्वहरुको कामको सम्मान गर्दै उनीहरुको हौसला बढाउनु आम सञ्चारमाध्यमको जिम्मेवारीसमेत भएको बताए ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार २०:५१