उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना,सामाजिक सुरक्षा कोषलाई थप सक्रिय बनाउन माग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनबीच समस्या समाधान गर्न फोरम स्थापना,सामाजिक सुरक्षा कोषलाई थप सक्रिय बनाउन माग



काठमाडौं । नेपालको रोजगारदाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ र ट्रेड युनियनले श्रम सम्बन्धी समस्या समाधान गर्न फोरम स्थापना गरेका छन् ।

बैठकमा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो समय देशमा रोजगारदाता–श्रमिक सम्बन्ध सुधार हुँदै गएको बताए । ढकालले भविष्यमा आउन सक्ने कुनै पनि चुनौती समाधान गर्न रोजगारदाता र श्रमिकबीच सहकार्य र समन्वय हुनुपर्ने उनले बताए ।

बैठकमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले गत मंसिरमा भएको समझदारी पत्र समीक्षा गर्नका साथै आगामी दिनहरूमा आउन सक्ने चुनौतीहरूको दुई पक्ष रूपमा न्यूनीकरणका उपायहरू पहिचान गर्दै जाने बताए ।

सामाजिक सुरक्षा कोषलाई अझ सक्रिय पर्दै जानु पर्ने र यसका लागि श्रमिक र रोजगारदाता दुवै पक्षको भूमिकालाई बढाउँदै जान पर्ने जरुरी रहेको उनले बताए ।

नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष विनोद श्रेष्ठले उद्योग पनि बचाउने र श्रम बजारलाई पनि व्यवस्थित गर्दै अगाडी बढ्ने दृष्टिकोण स्थापित गर्न जरुरी रहेको बताए ।

द्विपक्षीय समझदारी गरिएको विषयलाई सम्झना गर्दै त्यस समझदारीमा उल्लेख गरिएका कार्यक्रमहरूलाई दुई पक्ष रुपमा कार्यसमिति निर्माण गरी अगाडि बढ्न जरुरी रहेको जानकारी गराए ।

महासंघका उपाध्यक्ष एवं रोजगारदाता परिषदका सभापति ज्योत्सना श्रेष्ठले गत मङ्सिरमा भएको समझदारीलाई छिट्टै कार्यान्वयन गर्नुपर्ने बताइन् ।

प्रकाशित : १९ भाद्र २०८१, बुधबार १३:३०