सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ : मुख्यसचिव गड्तौला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारले सय दिनमा गर्ने कामको योजना छिट्टै सार्वजनिक हुन्छ : मुख्यसचिव गड्तौला



काठमाडौँ । नेपाल सरकारले सय दिनमा गर्ने कामहरूको योजना सार्वजनिक गर्ने भएको छ । मुख्यसचिव लीलादेवी गड्तौलाले सरकारले सय दिनमा सम्पादन गर्ने कामहरूको योजना छिट्टै सार्वजनिक गर्ने तयारी गरेको जानकारी दिएकी हुन् ।

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले गत वर्ष भन्दा यस वर्ष सरकारले बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा बढी सफलता हात पर्ने दाबी समेत गरिन् । गत वर्षभन्दा यस वर्ष बजेटमा उल्लेखित कार्यक्रमहरू कार्यान्वयन हुने र बजेट पनि खर्च हुने मुख्यसचिव गड्तौलाको दाबी थियो । उनले आफूले बजेटबारे धेरै बोल्न नमिल्ने तर्क समेत गरिन् । सम्बन्धित मन्त्रालयले बजेट कार्यान्वयन गर्ने भएकाले आफूले त्यसमा बढी बोल्न उपयुक्त नहुने मुख्य सचिव गडतौलाको स्पष्टीकरण थियो ।

उनले भनिन्, ‘नेपाल सरकारले अहिलेको सरकारले सय दिन भित्रमा गर्ने काम के के हुन् ? भन्ने कुरा अब छिट्टै नै बाहिर ल्याउँदैछ । त्यो सय दिन भित्र गर्ने काम धेरै नै यहाँ पर्ने मैले महसुस गरेको छु । यो बजेटको बारेमा मैले धेरै बोल्नु पनि हुँदैन । जसले जे मन लाग्यो, जतिखेर जहाँ बोल्ने पनि होइन जस्तो लाग्छ । बजेट अर्थ मन्त्रालयबाटै बोल्नुपर्ने हो । सम्बन्धित मन्त्रालयले नै जान्दछ । मुख्यसचिवले कुनै पनि फाइल सदर गर्नुपर्दैन । धेरैलाई भ्रम छ–सबै फाइल मुख्य सचिवले सदर गर्छ भन्ने । तर त्यो होइन । मुख्य सचिवले क्याबिनेटमा गर्ने हो । बाँकी अरू सम्बन्धित मन्त्रालयले नै गर्ने हो ।’

मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न सचिवहरूलाई निर्देशन समेत दिइन् । उनले जिम्मेवार निकायमा बस्नेहरूले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने बताइन् ।

प्रकाशित : ५ भाद्र २०८१, बुधबार १५:२६