नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँछन् ? यस्तो छ व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाली नागरिकले विदेशमा लगानी गर्न पाउँछन् ? यस्तो छ व्यवस्था



काठमाडौं । राष्ट्र बैंकले जनचेतनाका लागि नेपाली नागरिकले विदेशमा लगानी गर्नेबारेमा थप प्रष्ट पारेको छ। बैंकले मंगलबार एक सूचना प्रकाशित गरी नेपाली नागरिकले विदेशमा लगानी गर्ने सम्बन्धमा भएको व्यवस्थाबारे जानकारी गराएको हो।

विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा बैंक खाता खोल्न, घरजग्गा तथा अन्य कुनै पनि किसिमको लगानी गर्न प्रतिबन्ध लगाइएको छ ।

नेपाली नागरिकले विदेशमा रहँदाबस्दाको अवधिसम्म भने त्यहाँ आर्जन गरेको रकम विदेशस्थित बैंकमा खाता खोली रकम जम्मा गर्न सक्ने व्यवस्था छ। यसरी लगानी गरेको विदेशी विनिमय नेपालमा फर्किसकेपछि ३५ दिनभित्र स्वदेश फर्काउने व्यवस्था गर्नुपर्छ।

नेपाल फर्केपछि पनि यस्तो खाता वा लगानी कायमै राख्न चाहेमा सो खाता वा लगानी रहेको बैंकको नाम, ठेगाना, खाता नम्बर, विदेशी मुद्रा तथा रकम खुलाई सोको जानकारी तोकिएको ढाँचामा नेपाल राष्ट्र बैंकमा ३५ दिनभित्र दिनुपर्ने व्यवस्था रहेको छ।

प्रकाशित : ४ भाद्र २०८१, मंगलवार ११:३१