साधारण शेयर (Ordinary or Common Share)
कम्पनीले आर्जन गरेको नाफाबाट अग्राधिकार शेयरवालाहरुलाई तोकिएको दरमा लाभांश वितरण लाई लाभांश प्राप्त हुन्छ भन्नभांश वितरण गरिने गरी जारी गरिएको धितोपत्रलाई साधारण शेयर भनिन्छ । साधारण शेयरमा लगानी गर्ने लगानीकर्ताहरुलाई आफ्नो लगानीको मात्रानुसार सम्बन्धित कम्पनीको स्वामित्व प्राप्त हुन्छ र उनीहरुलाई कम्पनीको स्वामी (Owner) मानिन्छ । कम्पनीको स्वामीको हैसियतले साधारण शेयरवालाहरुले बढी जोखिम उठाउनुपर्दछ । साधारण शेयरमा दिइने लाभांशको दर निश्चित हुँदैन र कम्पनीले आर्जन गर्ने नाफाको घटबढ अनुसार यो पनि घटिवढी हुन सक्छ । अर्काेतर्फ कम्पनीले नाफा आर्जन गर्दैमा साधारण शेयरवालाहरुलाई लाभांश प्राप्त हुन्छ भन्ने हुँदैन अर्थात साधारण शेयरमा लाभांश दिनै पर्ने बाध्यात्मक अवस्था हुँदैन । तर कम्पनीले जति बढी नाफा आर्जन गर्दछ, उति नै बढी दरमा लाभांश प्राप्त हुने सम्भावना भने रहन्छ ।
साथै लाभांशको रुपमा कम्पनीले साधारण शेयरवालाहरुलाई बोनश शेयर पनि वितरण गर्न सक्छ । सम्बन्धित कम्पनी खारेजीमा गएको अवस्थामा डिवेञ्चरवालाहरु र अग्राधिकार शेयरवालाहरुलाई भुक्तानी गर्नुपर्ने रकम भुक्तानी गरिसकेपछि बाँकी रहेको रकम मात्र साधारण शेयरवालाहरुले दावी गर्न सक्छन् । यस कारण साधारण शेयरमा गरिने लगानीलाई जोखिमपूर्ण मानिएको छ । बढी प्रतिफल प्राप्त गर्न बढी जोखिम पनि उठाउन तयार हुने लगानीकर्ता (Aggressive Investor) का लागि मात्र साधारण शेयर जस्तो धितोपत्रको औजार उपयुक्त मानिन्छ । हालको प्रचलित ब्यवस्था अनुसार साधारण शेयरको अंकित मूल्य साधारणत रु. १०० रहेको छ । कथंकदाचित सम्बन्धित कम्पनी खारेजीमा गई ठूलो दायित्व ब्यहोर्नुपर्ने भएमा पनि साधारण शेयरवालाहरुको दायित्व उनीहरुले लगानी गरेको रकमसम्ममै सिमित हुन्छ र आफ्नो घरघरानाबाट ब्यहोर्नु पर्दैन ।
हकप्रद शेयर (Rights Share)
विगतमा सर्वसाधारणमा साधारण शेयर निष्काशन गरिसकेको कम्पनीले भविष्यमा पुनः साधारण शेयर निष्काशन गर्ने भएमा त्यसरी निष्काशन गरिने शेयरहरु खरीद गर्ने पहिलो हक विद्यमान शेयरवालाहरुलाई प्राप्त हुन्छ । यस प्रकार पुनः निष्काशन गरिने शेयरमा विद्यमान शेयरवालाहरुको पहिलो हक हुने भएकोले त्यस्तो शेयरलाई हकप्रद शेयर भनिन्छ । हकप्रद शेयर खरीद गर्ने वा नगर्ने निर्णय गर्न विद्यमान शेयरवालाहरु स्वतन्त्र हुन्छन् । विद्यमान शेयरवालाहरुले आफूले पहिले खरीद गरेको शेयरको अनुपातमा हकप्रद शेयर खरीद गर्ने अधिकार प्राप्त गर्दछन् ।
अग्राधिकार शेयर (Preference Share)
कम्पनीले आर्जन गरेको मुनाफाबाट तोकिएको दरमा लाभांश वितरण गर्ने गरी जारी गरिएको शेयरलाई अग्राधिकार शेयर भनिन्छ । कम्पनीले वितरण गर्ने लाभांश सम्बन्धमा साधारण शेयरवालाको भन्दा अग्र अधिकार हुने हुनाले नै यसलाई अग्राधिकार शेयर भनिएको हो । यस्तै कम्पनी खारेजीमा जाने भएमा पनि आफ्नो लगानी र सञ्चित लाभांश प्राप्त गर्ने सम्बन्धमा अग्राधिकार शेयरवालाहरुको अग्राधिकार हुन्छ । यसै कारण अग्राधिकार शेयरमा गरिने लगानीलाई तुलनात्मकरुपमा कम जोखिमपूर्ण मानिएको छ । तर सम्बन्धित कम्पनीले कुनै वर्ष नाफा आर्जन गर्न नसकेमा अग्राधिकार शेयरवालाहरुले तोकिएको दरमा लाभांश प्राप्त गर्न सक्दैनन् । अर्कोतर्फ कम्पनीले जतिसुकै नाफा आर्जन गरेता पनि अग्राधिकार शेयरवालाहरुले तोकिएको दरभन्दा बढी लाभांश प्राप्त गर्न सक्दैनन् । यस प्रकार अग्राधिकार शेयरमा गरिने लगानीमा जोखिम पनि कम र प्रतिफल पनि कम हुन्छ । अग्राधिकार शेयरवालाहरुले आफ्नो हकहितसँग सम्बन्धित विषयमा छलफल हुने अवस्थामा वाहेक अन्य अवस्थामा कम्पनीको वार्षिक साधारण सभामा भाग लिन पाउँदैनन् ।
अग्राधिकार शेयरलाई मिश्रित प्रकृतिको धितोपत्र (Hybrid Security) को रुपमा लिइन्छ किनभने यसमा साधारण शेयर तथा डिवेञ्चर दुवैको विशेषता पाइन्छ । अग्राधिकार शेयरहरु सञ्चयशील (कुनै वर्ष कम्पनी नोक्सानमा गई लाभांश भुक्तानी गर्न नसक्दा लाभांश सञ्चय भै आगामी वर्षको नाफाबाट भुक्तानी गर्नुपर्ने) वा असञ्चयशील, विमोच्य (निश्चित समयावधि पछि फिर्ता भुक्तानी दिइने) वा अविमोच्य र परिवर्तनशील (निश्चित समयावधि पछि साधारण शेयरमा परिवर्तन गर्न सकिने) वा अपरिवर्तनशील प्रकृतिका हुन्छन् ।
लाभांश र बोनश शेयर (Dividend / Bonus Share)
कम्पनीले आर्जन गरेको नाफाबाट आफ्ना शेयरधनीहरुलाई दिइने प्रतिफल नै लाभांश हो । यस्तो लाभांश नगदमा दिइएमा नगद लाभांश भनिन्छ भने शेयरमा दिएमा बोनश शेयर वा स्टक डिभिडेन्ड भनिन्छ । कम्पनीको बचत वा जगेडाकोषलाई पूँजीकरण गर्नका लागि विद्यमान शेयरवालाहरुलाई यस प्रकार थप शेयर (बोनश शेयर) प्रदान गरिन्छ वा चुक्ता पूँजी वृद्धि गरिदिन्छ । लाभांशको परिमाण सञ्चालक समितिद्वारा निर्णय गरिन्छ ।
Comment