काठमाडौं । चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा कुनै समस्या नभएको चन्द्रागिरि हिल्सका अध्यक्ष चन्द्र ढकालले बताएका छन् । शुक्रबार चन्द्रागिरि हिल्सले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘चन्द्रागिरि केबलकारमा कुनै प्राविधिक समस्या छैन । चन्द्रागिरि केबलकारमा कहिलेकाहीँ लोडसेडिङ हुँदा टेक्नोलोजीको हिसाबले केही समय रोकिने गरेको पक्कै छ । तर, लामो समयसम्म यस्तो समस्या रहँदैन । केही समस्या आएमा तत्कालै हामीले समाधान गर्ने गरेका छौँ ।’
त्यसैगरी, चन्द्रागिरि केबलकार तीन वटा सिस्टमबाट सञ्चालन हुने भन्दै उनले भने, ‘हामीले विद्युत्, जेनेटर र इमरजेन्सी ड्राइभबाट केबलकार सञ्चालन गर्ने गर्छौ । विद्युतबाट सञ्चालन भइरहेको अवस्थामा विद्युत् गएमा एक मेगावाटसम्मको क्षमतामा जेनेटरबाट चल्छ । यसमा पनि समस्या आएमा त्यसका लागि इमरजेन्सी ड्राइभ भन्ने छ त्यसबाट तत्कालै सञ्चालन गर्ने गर्छौ ।’
चन्द्रागिरि केबलकारमा प्राविधिकरुपमा केही समस्या आएमा के हुन्छ भन्नेबारे सबैलाई जानकारी नभएको तथा प्राविधिक समस्या र यसको समाधानबारे सही सन्देश प्रवाह नभएका कारण कतिपयलाई कन्फ्युजन भएको उनले बताए ।
केबलकार जस्ता विश्वमा २० हजार प्रोजेक्ट छरिएर रहेका छन् । केबलकारमा समस्या आउनु भनेको अन्य २० हजार प्रोजेक्टमा समस्या आउनु जस्तै हाे। त्यसैले अागामी दिनमा यस्तो समस्या आए डराउनु नपर्ने उनले बताए ।
चन्द्रागिरि केबलकारमा कुनै समस्या आएर गोण्डुला रोकिएमा तत्कालै इमर्जेन्सी ड्राइभबाट उद्वार गरिने जनाएको छ । केही समयअघि केवलकारको गोण्डुला रोकिएपछि चन्द्रागिरि हिल्सले आयोजना गरेको पत्रकार सम्मेलन गर्दै अध्यक्ष चन्द्रप्रसाद ढकालले यात्रुहरुलाई कुनै समस्या आएमा नआत्तिन आग्रह गरेका छन् ।
रोकिएकाहरुलाई इमर्जेन्सी ड्राइभमार्फत उद्वार गर्ने र लामो समय रोकिएर टप स्टेसनमा रहेकाहरुलाई गाडीमार्फत उद्वार गरिने जनाएको छ । यदि गाडीमार्फत पनि उद्वार गर्न नसकिए केवलकारमा रहेको रिसोर्टमा निःशुल्क रुपमा राख्ने अध्यक्ष ढकालले जानकारी दिए।
इन्जिनियर सरोज चापागाईंले तत्कालै उद्वारका लागि इमर्जेन्सी ड्राइभमार्फत ४०-४५ मिनेटमा उद्वार गरिसक्ने बताए ।
चन्द्रागिरि हिल्सले पर्यटकको सुविधालाई मध्यनजर गर्दै १० बजेबाट ५ बजेसम्ममात्र सञ्चालन गर्दै अाएकाे केबलकार आगामी दिनमा बिहान १० बजेदेखि बेलुका ९ बजेसम्म सञ्चालन गर्ने अध्यक्ष ढकालले बताएका छन् । साथै, आगामी दिनमा पार्टि सेमिनार हल, सगरमाथा सम्वाद हल लगाएत विभिन्न सुविधाहरु ल्याउने तयारी गरिरहेको जनाएको छ । त्यस्तै अब चाडै मेम्बरसीप कार्ड पनि सञ्चालनमा ल्याउने तयारी चन्द्रागिरि हिल्सको रहेको छ ।
Comment