काठमाडौं । स्वास्थ्य बीमामा आबद्ध नागरिकले उपचार सेवा लिन अस्पताल जाँदा अब सक्कली परिचयपत्र नै बोकेर जानुपर्ने बाध्यता हटेको छ। स्वास्थ्य बीमा बोर्डले डिजिटल कार्ड तथा परिचयपत्रको फोटोकपीका आधारमा समेत उपचार सेवा उपलब्ध गराउन स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिएको छ।
बोर्डले बुधबार देशभरका स्वास्थ्य बीमा सेवा प्रदायक संस्थालाई पत्राचार गर्दै भौतिक परिचयपत्र नभएकै कारण कुनै पनि बीमितलाई उपचारबाट वञ्चित नगर्न भनेको हो।
नयाँ व्यवस्थाअनुसार अब बीमितले सक्कली स्वास्थ्य बीमा परिचयपत्र, डिजिटल कार्ड वा परिचयपत्रमा रहेका विवरण स्पष्ट देखिने फोटोकपीमध्ये कुनै एक देखाएर सेवा लिन सक्नेछन्।
यसका लागि अस्पतालले सम्बन्धित व्यक्तिको स्वास्थ्य बीमा नम्बर आफ्नो दर्ता प्रणालीमा जाँच गरी बीमितको विवरण प्रमाणीकरण गर्नुपर्नेछ। प्रणालीबाट बीमा आबद्धता पुष्टि भएपछि सम्बन्धित व्यक्तिलाई बीमा कार्यक्रमअन्तर्गतको उपचार सेवा उपलब्ध गराउनुपर्ने बोर्डको निर्देशन छ।
यसअघि स्वास्थ्य बीमाअन्तर्गत उपचार लिन अस्पताल पुग्दा भौतिक परिचयपत्र अनिवार्य रूपमा प्रस्तुत गर्नुपर्ने अभ्यास थियो। कार्ड हराएका, बिग्रिएका वा घरमै छुटेका कारण कतिपय सेवाग्राही उपचार सेवा लिनबाटै समस्यामा पर्ने गरेका थिए।
बोर्डका प्रवक्ता पवनकुमार शाहका अनुसार परिचयपत्र साथमा नभएकै कारण बीमित नागरिक अस्पतालबाट फर्किनुपर्ने अवस्था अन्त्य गर्न नयाँ व्यवस्था लागू गरिएको हो।
यो व्यवस्थाले विशेषगरी आकस्मिक रूपमा अस्पताल पुग्नुपर्ने तथा परिचयपत्र बोक्न छुटेका बीमितलाई सहज हुने अपेक्षा गरिएको छ। साथै, स्वास्थ्य बीमा सेवालाई डिजिटलमैत्री बनाउँदै भौतिक कार्डमाथिको निर्भरता घटाउन पनि यसले सहयोग पुग्ने देखिन्छ।
तर, डिजिटल कार्ड वा फोटोकपी देखाउँदैमा स्वतः उपचार सेवा पाइने भने होइन। अस्पतालले स्वास्थ्य बीमा नम्बर र प्रणालीमा रहेको विवरण भिडान गरेर सम्बन्धित व्यक्ति बीमामा आबद्ध रहेको पुष्टि गर्नुपर्ने व्यवस्था यथावत् राखिएको छ।






प्रतिक्रिया