पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

पुराना भारतीय लगानीको अभिलेखीकरणमा सहजीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ : ढकाल

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौँ।नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण (लेखांकन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गर्नुभएको छ।

१२ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘मूल समारोह कार्यक्रम’ मा मन्तव्य राख्दै अध्यक्ष ढकालले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी) को अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको स्पष्ट पार्नुभयो। उहाँले यस विषयमा उद्योग मन्त्री र सचिवको विशेष ध्यानाकर्षण गराउनुभयो।

“उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ वैदेशिक लगानी (एफडिआई) भित्र्याउन ठूलो मद्दत पुग्नेछ,” ढकालले भन्नुभयो।

सोही अवसरमा उहाँले नयाँ सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै प्रशंसासमेत गर्नुभयो। सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै ढकालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकको रूपमा सम्मान गरेको उल्लेख गर्नुभयो।

निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार हो भन्ने कुरालाई नयाँ सरकारले आत्मसात् गरेको बताउँदै उहाँले भन्नुभयो, “पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम अत्यन्तै सराहनीय छ, अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ।”

उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण र डिजिटलाइजेशनको प्रशंसा गर्दै उहाँले निजी क्षेत्रमैत्री नीतिगत सुधारले अझ गति लिने विश्वास व्यक्त गर्नुभयो।

‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आयोजित उक्त समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रका छाता सङ्गठनका प्रमुखहरू तथा उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष ढकाललाई सम्मानसमेत गरिएको थियो।

प्रकाशित : ९ मंसिर २०८३, बुधबार १५:४३ 25 November, 2026 3:43 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।