चार महिनामै व्यापार घाटा पौने ७ खर्ब नजिक, आयात ८ खर्ब माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
९ मंसिर २०८३, बुधबारWednesday, November 25, 2026

अर्थतन्त्र

चार महिनामै व्यापार घाटा पौने ७ खर्ब नजिक, आयात ८ खर्ब माथि

यो समाचार सुन्नुहोस्0:00 / --:--

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामै नेपालको व्यापार घाटा करिब ६ खर्ब ६९ अर्ब रुपैयाँ पुगेको छ। निर्यात व्यापारमा ४३ प्रतिशतभन्दा बढीको वृद्धि देखिए पनि आयातको उच्च चापका कारण व्यापार घाटा भने २९.६५ प्रतिशतले बढेको हो।

भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार साउनदेखि कात्तिकसम्म नेपालको कुल वैदेशिक व्यापार ३३.३३ प्रतिशतले वृद्धि भई ९ खर्ब ३७ अर्ब २४ करोड ४५ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा यस्तो व्यापार ७ खर्ब २ अर्ब ९४ करोड ७० लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा नेपालबाट १ खर्ब ३४ अर्ब १४ करोड ५८ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। गत वर्षको सोही अवधिमा ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको निर्यात भएकोमा यस वर्ष निर्यात ४३.४८ प्रतिशतले बढेको हो।

निर्यातमा भएको वृद्धिसँगै कुल वैदेशिक व्यापारमा यसको हिस्सा पनि बढेको छ। गत वर्ष पहिलो चार महिनामा कुल व्यापारमा निर्यातको हिस्सा १३.३० प्रतिशत रहेकोमा चालु आर्थिक वर्षमा बढेर १४.३१ प्रतिशत पुगेको छ। त्यस्तै, आयात र निर्यातबीचको अनुपातमा समेत सुधार देखिएको छ। गत वर्ष १ रुपैयाँ बराबरको निर्यात गर्दा ६.५२ रुपैयाँको आयात हुने गरेकोमा यस वर्ष घटेर ५.९९ रुपैयाँमा झरेको छ।

यद्यपि, निर्यातमा भएको वृद्धिको तुलनामा आयातको आकार निकै ठूलो छ। समीक्षा अवधिमा नेपालले ८ खर्ब ३ अर्ब ९ करोड ८७ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ। गत वर्षको सोही अवधिमा ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँको आयात भएको थियो। यससँगै आयात ३१.७७ प्रतिशतले बढेको देखिन्छ।

आयात र निर्यातबीचको ठूलो अन्तरका कारण चार महिनामा मुलुकले ६ खर्ब ६८ अर्ब ९५ करोड २९ लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा व्यापार घाटा ५ खर्ब १५ अर्ब ९५ करोड ५४ लाख रुपैयाँ रहेको थियो।

कुल वैदेशिक व्यापारमा आयातको हिस्सा भने गत वर्षको ८६.७० प्रतिशतबाट घटेर ८५.६९ प्रतिशतमा झरेको छ। यसले निर्यातको हिस्सा केही बढे पनि आयातमा निर्भरता कायमै रहेको देखाउँछ।

निर्यातमा देखिएको सुधार अर्थतन्त्रका लागि सकारात्मक भए पनि आयातको तीव्र विस्तारले व्यापार घाटा घटाउने चुनौती थपिएको छ। स्वदेशी उत्पादन र निर्यातयोग्य वस्तुको उत्पादन तथा बजार विस्तार गर्न नसके व्यापार असन्तुलन कायम रहने देखिन्छ।

भन्सार विभागका अनुसार समीक्षा अवधिको वैदेशिक व्यापार कम्प्युटराइज्ड प्रणाली (आसिकुडा) लागू भएका २४ वटा प्रमुख भन्सार नाकाबाट भएको कारोबारमा आधारित छ।

प्रकाशित : ९ मंसिर २०८३, बुधबार १२:४१ 25 November, 2026 12:41 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।