काठमाडौं । मनकामनाको पहिलो लक्जरी होटलका रूपमा स्थापित मनकामना हिलक्रेस्ट रिसोर्टले सञ्चालनको एक वर्ष पूरा गरेको छ। मंसिर ८ गते पहिलो वार्षिकोत्सव मनाउँदै रिसोर्ट दोस्रो वर्षमा प्रवेश गरेको हो।
चितवन को-इ समूहअन्तर्गत रिसोर्ट्स बाई मनकामना केबलकार प्रालिद्वारा स्वामित्व तथा सञ्चालित यस रिसोर्टले मनकामनालाई धार्मिक तीर्थस्थलका रूपमा मात्र नभई सुविधासम्पन्न आतिथ्य सेवासहितको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको छ।
पहिलो वर्षको सञ्चालनलाई रिसोर्टले सन्तोषजनक र उत्साहजनक मानेको छ। सुविधासम्पन्न आवास, आरामदायी बसाइ र गुणस्तरीय सेवा उपलब्ध गराउँदै मनकामनाको पर्यटन विकासमा योगदान पुर्याउने उद्देश्यका साथ रिसोर्ट अघि बढिरहेको जनाएको छ।
रिसोर्ट समूहका स्वर्गीय संस्थापक लक्ष्मण बाबु श्रेष्ठको दीर्घकालीन परिकल्पना र योजनाअनुसार निर्माण गरिएको हो। निर्धारित समयभन्दा केही ढिलो सञ्चालनमा आए पनि संस्थापकप्रतिको सम्मान र उहाँको स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले मनकामना केबलकार सञ्चालनमा आएको मितिमै रिसोर्टको औपचारिक उद्घाटन गरिएको थियो।







प्रतिक्रिया