बाढीले खोस्यो घर–व्यवसाय, अब उद्यमशीलताले फर्काउनुपर्छ जीवन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

बाढीले खोस्यो घर–व्यवसाय, अब उद्यमशीलताले फर्काउनुपर्छ जीवन



उद्यमशिलता कार्यक्रमको मूल सोच परिवारलाई एकपटक सहयोग गरेर छाड्नेभन्दा पनि उद्यममार्फत नियमित आयआर्जन गर्न सक्षम बनाउने हुनु पर्दछ । विशेषगरी बालबालिकाको शिक्षा र परिवारको आर्थिक अवस्थाबीचको सम्बन्धलाई केन्द्रमा राखेर अभिभावक तथा समुदायलाई उद्यमशीलतासँग जोड्ने प्रयास गर्न अति जरुरी छ र यसले मात्र प्रभावित क्षेत्रको सामाजिक विकासमा महत्वपुर्ण योगदान पुर्याउंन सक्दछ । यस प्रक्रियामा उद्यमको छनोट, व्यवसायीक ज्ञान तथा तालिम, प्रारम्भिक पूँजी सहयोग, व्यवसाय सञ्चालन, नियमित प्राविधिक परामर्श तथा व्यवसायको प्रगति जस्ता पक्षहरूको ख्याल गरिनुपर्दछ र यस प्रकारका कार्यक्रमहरु ‘एचपीएफ’लगायत विभिन्न साझेदार संस्थाहरुले देशका बिभीन्न ठाउंमा सन्चालन गरिरहेका छन । यसबाट एउटा महत्वपूर्ण कुरा सिक्न सकिन्छ—उद्यमशीलता कार्यक्रमको सफलता केवल कति परिवारलाई पैसा दिइयो भन्नेमा होइन, कति परिवारले त्यो सहयोगलाई दिगो आम्दानीमा रूपान्तरण गर्न सके र सामाजिकीकरणमा योगदान दिनसके भन्नेमा मापन हुनुपर्छ । तब मात्र हाम्रा प्रयासहरु विपद्पछिको पुनस्र्थापनामा पनि उपयोगी हुन सक्छन ।

राहतबाट रिकोभरी, रिकोभरीबाट रिलायन्स

पहिलो चरणमा राहतले जीवन बचाउँछ, दोस्रो चरणमा पुनस्र्थापनाले जीवनलाई सामान्य अवस्थामा फर्काउँछ र तेस्रो चरणमा रिलायन्स अर्थात् भविष्यका संकट सामना गर्न सक्ने क्षमता निर्माण हुन्छ । उद्यमशिलता बिकास यी तीनै चरणबीच जोडिने एउटा महत्वपूर्ण माध्यम बन्नसक्छ । उदाहरणका लागि, बाढीबाट व्यवसाय गुमाएको परिवारलाई तत्काल राहत आवश्यक छ । त्यसपछि उसको व्यवसाय पुनः सञ्चालन गर्न आवश्यक पूँजी र सामग्री चाहिन्छ । त्यसपछि व्यवसायलाई अझ सुरक्षित र विविध बनाउन बजार, वित्तीय व्यवस्थापन, नयाँ उत्पादन वा वैकल्पिक आयस्रोतबारे सहयोग आवश्यक पर्न सक्छ । तसर्थ यसरी हेर्दा व्यवसाय पुनः सुरु गर्नु मात्र रिकोभरी भविष्यमा अर्को संकट आउँदा पनि परिवारको आय पूर्ण रूपमा नटुट्ने क्षमता निर्माण गर्नु रिलायन्स हो । 

स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन स्थानीय उद्यम आवश्यक

विपद्पछि बाहिरबाट राहत सामग्री आउँछ । तर दीर्घकालीन पुनस्र्थापनाका लागि स्थानीय अर्थतन्त्रभित्रै पैसा र अवसरको प्रवाह बढाउन आवश्यक हुन्छ । स्थानीय उद्यमीले उत्पादन गर्छ, स्थानीय श्रमिकले रोजगारी पाउँछन्, स्थानीय बजारमा कारोबार हुन्छ, परिवारको आम्दानी बढ्छ र स्थानीय सरकारको आर्थिक आधार बलियो हुन्छ । यसरी एउटा सानो उद्यमको पुनस्र्थापनाले केवल एउटा परिवारलाई मात्र होइन, सम्पूर्ण स्थानीय आर्थिक प्रणालीलाई चलायमान बनाउन सक्छ ।

त्यसैले विपद्पछिको पुनर्निर्माणमा सडक, पुल, विद्यालय र घरसँगै स्थानीय व्यवसाय तथा आयआर्जनका स्रोतको पुनर्निर्माणलाई पनि योजनाको अभिन्न हिस्सा बनाउनुपर्छ । यसका लागि उद्यमशीलता कार्यक्रम सावधानीपूर्वक सञ्चालन गर्न जरुरी छ । विपद्पछि हतारमा सबै प्रभावित परिवारलाई एउटै प्रकारको व्यवसाय वा समान रकम वितरण गर्नु प्रभावकारी नहुन सक्छ । प्रत्येक परिवारको अवस्था, क्षमता, सीप, रुचि, उपलब्ध स्रोत, बजारको पहुँच र जोखिम फरक हुन्छ भने बजार क्षेत्र र ग्रामीण क्षेत्रका उद्यमशिलताको प्रकृति नै फरक हुने गर्दछ । ‘पैसा दियौँ, अब व्यवसाय आफैँ चल्छ’ भन्ने सोचले दिगो परिणाम दिन सक्दैन । बरु, पूँजी, सीप, व्यवसाय योजना, बजार, प्राविधिक सहयोग, नियमित अनुगमन दिगो उद्यम भन्ने अवधारणाबाट कार्यक्रम अघि बढाउनुपर्छ । 

भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनस्र्थापनामा नयाँ अवसरको खोजी

भोटेकोशी बाढी प्रभावित क्षेत्रको भौगोलिक तथा आर्थिक विशेषतालाई ध्यानमा राखेर पुनस्र्थापनाका कार्यक्रम बनाइनुपर्छ । कृषि, पशुपालन, स्थानीय उत्पादन, पर्यटन एवं होटेल व्यवसाय तथा सीमापार व्यापारसँग सम्बन्धित गतिविधिको सम्भावना पहिचान गर्न सकिन्छ । तर पुरानै व्यवसायलाई जस्ताको तस्तै पुनःस्थापित गर्नु मात्र पर्याप्त नहुन सक्छ । विपद्को जोखिमलाई ध्यानमा राख्दै ‘द्यगष्मि द्यबअप द्यभततभच’ को अवधारणाअनुसार सुरक्षित, विविधीकृत र जोखिमप्रतिरोधी व्यवसाय निर्माण गर्न आवश्यक छ । यसका लागि संघिय सरकारको भरपर्दो अभिभावकत्वमा स्थानीय सरकार, निजी क्षेत्र, वित्तीय संस्था, विकास साझेदार र समुदायबीच सहकार्य आवश्यक हुन्छ।

अबको प्राथमिकता : मानिसलाई फेरि आफ्नो खुट्टामा उभ्याउने

आज भोटेकोशी बाढी प्रभावित क्षेत्रका धेरै परिवारलाई हाम्रो सहानुभूति र तत्काल सहयोग चाहिएको छ । तर उनीहरूलाई सँधै राहतको प्रतीक्षामा बस्ने अवस्थामा राख्नु हाम्रो उद्देश्य हुनु हुँदैन । हाम्रो उद्देश्य हुनुपर्छ—‘आज राहत, भोलि पुनस्र्थापना र पर्सी आत्मनिर्भरता ।’

प्रभावित परिवारलाई शिक्षा स्वास्थ्य भौतिक पूर्वाधार विकास, खानेपानी बिजुलीसहितको स्थायी बसोबासको प्रबन्धसँगै आफ्नो व्यवसाय पुनः सुरु गर्न सहयोग गर्नु, आवश्यक्ता अनुरुप नयाँ सीप सिकाउनु, स्थानीय स्रोतमा आधारित उद्यम विकास गर्नु र बजारसँग जोड्नु नै दीर्घकालीन पुनस्र्थापनाको बलियो आधार बन्न सक्छ । पटक–पटक विपद्ले हामीलाई एउटा कठोर पाठ सिकाएको छ—भौतिक संरचना पुनर्निर्माण गर्न सकिन्छ, तर आर्थिक आधार कमजोर भयो भने परिवारलाई सामान्य जीवनमा फर्किन धेरै लामो समय लाग्दछ । त्यसैले अबको पुनर्निर्माण केवल ‘घर बनाउने अभियान’ हुनु हुँदैन । यो ‘परिवार र स्थानीय अर्थतन्त्र पुनःनिर्माण गर्ने अभियान’ पनि हुनुपर्छ । 

अन्ततः, विपद्को समयमा मानवीय संवेदना सबैभन्दा ठूलो शक्ति हो । उद्धारमा राज्य, सुरक्षा निकाय र समुदायको सहकार्य आवश्यक छ । राहतमा सबैको हातेमालो आवश्यक छ । तर दीर्घकालीन पुनस्र्थापनामाका लागी सामाजिक एवं भौतिक बिकाससँगै उद्यमशीलता, स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई केन्द्रमा राख्नुपर्छ । 

हामीले विगतका भूकम्प, महामारी र प्राकृतिक प्रकोपबाट धेरै कुरा सिकेका छौँ । अब ती सिकाइलाई व्यवहारमा उतार्ने समय आएको छ र यसका लागि सरकार बढी जिम्मेवार पारदर्शी जनउत्तरदायी बनी देश सबैको हो । सबै मिले मात्र व्यवहारिक र सकरात्मक परिवर्तन सम्भब छ भन्ने मान्यतालाई आत्मसाथ गरी राष्ट्रिय एकता कायम गर्न अग्रसर हुनुपर्दछ । तब मात्र भोटेकोशीको अप्रत्याशित विपदमा ज्यान गुमाउंनुहुने परिवारजनप्रति सच्चा श्रद्धानजली हुनेछ । तसर्थ, रसुवा–नुवाकोटलगायत भोटेकोशी तटीय क्षेत्रका प्रभावित परिवारलाई केवल विपद्का पीडितका रूपमा होइन, भोलिको स्थानीय अर्थतन्त्र निर्माण गर्ने सम्भावित उद्यमी र आर्थिक साझेदारका रूपमा हेर्न ससक्दा मात्र पुनस्र्थापना अझ दिगो, सम्मानजनक र प्रभावकारी बन्न सक्छ । हामी सबैले आत्मसात गर्नैपर्छ की राहतले जीवन धान्छ, पुनस्र्थापनाले जीवन फर्काउँछ, तर उद्यमशीलताले भविष्य निर्माण गर्छ । 

लेखक कटुवाल लामो समयदेखि उद्यमशिलता विकासको क्षेत्रमा कार्यरत छन् )

प्रकाशित : 4 September, 2026 5:09 pm